राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

  चैत १४, २०७९

काठमाडौँ, १४ चैत : रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त संयोजनमा शिवपुरीमा सञ्चालित आठौँ संस्करणको राष्ट्रिय सुरक्षा तालिम सम्पन्न भएको छ । शिवपुरीस्थित सेनाको ‘आर्मी कमान्ड एन्ड स्टाफ कलेज’मा आयोजना भएको १५ दिनको तालिम आज समापन भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तालिम समापनको घोषणा गर्दै सहभागीलाई प्रमाणपत्र प्रदान गर्नुभयो । तालिममा राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध, रक्षा नीति तथा रणनीतिक योजनालगायत विषयमा सहभागीलाई प्रशिक्षण दिइएको थियो । सेनाले २०७२ सालदेखि उक्त तालिम दिन थालेको हो । उक्त कलेजबाट हालसम्म एक सय ६६ जनाले राष्ट्रिय सुरक्षा तालिम लिइसकेका छन् ।

तालिममा मन्त्रालय, सुरक्षा निकाय, सार्वजनिक संस्था र गैरसरकारी संस्थाबाट २७ जना सहभागी भएका थिए । तालिममा परराष्ट्र, सहरी विकास, कानुन, न्याय तथा संसदीय मामिला, शिक्षा, विज्ञान तथा प्रविधि, भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, नेपाल राष्ट्र बैंक, त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन, नेपाल रेडक्रस सोसाइटी, कान्तिपुर मिडिया ग्रुप, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाबाट प्रतिनिधिको सहभागिता थियो ।

राष्ट्रिय सुरक्षासँग सम्बन्धित रहेको चुनौतीलाई सुक्ष्मरुपमा अध्ययन गरी सामूहिक रुपमा समस्या समाधान पहिचान गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको सेनाले जनाएको छ । तालिमका क्रममा विभिन्न विषयका विज्ञलाई विषयगतरुपमा कक्षा सञ्चालन र छलफलमार्फत ज्ञानको दायरा विस्तार गरिएको छ ।

तालिमले भूराजनीतिक र विदेश नीति, राष्ट्रिय सुरक्षा, राष्ट्रिय शक्तिका मुख्य तत्व, नागरिक–सैनिक सम्बन्ध, मानवीय सहयोग तथा विपद् व्यवस्थापन, रणनीतिक योजना तथा नेपाली अर्थतन्त्रको कारक तत्वलगायत विषयमा जोड दिइएको सेनाले जनाएको छ ।

तालिम समापन समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले विद्यमान अन्तर्राष्ट्रिय सुरक्षा स्थिति महाशक्ति राष्ट्रको सुरक्षा स्वार्थ एवं टकरावका कारण थप अनिश्चित, जटिल र तरल हुँदै गएको उल्लेख गर्दै यसप्रकारका टकरावले साना विकाशशील राष्ट्रको सुरक्षा तथा समुन्नतिमा असर पर्ने बताउनुभयो । राष्ट्रिय सुरक्षालाई प्रतिकूल असल पर्ने सम्भावित खतराको पहिचान र उक्त खतराबाट हुन सक्ने चुनौतीलाई यथोचित ढङ्गबाट सम्बोधन गर्न यस प्रकारका तालिमले सहयोग पु¥याउनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो ।

परम्परागत चुनौतीको अलवा वातावरण, ऊर्जा, खाद्यान्न, साइबर तथा मानव सभ्यताका सुरक्षासम्बन्धी विषय पनि थप चुनौतीका रुपमा प्रस्तुत भइरहेको परिस्थितिमा यस्ता खतराको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिवेशमा दीर्घकालीन प्रभाव पार्न सक्ने उहाँको भनाइ छ । उहाँले राष्ट्रिय सुरक्षाका विविध आयामबारे छलफल गरी राष्ट्रिय स्वार्थ तथा अन्तरनिहित हितलाई प्रवद्र्धन गर्न ताजा अवधारणा तय गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो ।

कलेजका शिक्षाध्यक्ष उपरथि सन्तोषकुमार ढकालले तालिमबाट सहभागीबीच राष्ट्रिय सुरक्षाको विषयमा साझा बुझाइको विकास हुनाका साथै नयाँ शिराबाट सोच तथा विचार गरी सोसम्बन्धी तथ्यपरक दृष्टिकोण विकास गर्ने अवसर मिलेको बताउनुभयो । रासस

तपाईको प्रतिक्रिया