बेदकोटमा पन्ध्र शय्याको अस्पताल भवन निर्माण हुँदै

  चैत १४, २०७९

कञ्चनपुर, १४ चैत : सर्वसाधारणलाई स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि बेदकोट नगरपालिकामा पन्ध्र शय्याको अस्पताल भवन निर्माण अगाडि बढाइएको छ ।

नगरपालिकाको वडा नं ३ मा रु नौ करोड ७४ लाखको लागतमा अस्पताल भवन निर्माण हुन लागेको हो । अस्पताल भवन निर्माणका लागि राजेन्द्र निर्माण सेवा कम्पनीलाई जिम्मा दिइएको छ । निर्माण कम्पनीसँग अस्पताल निर्माणका लागि दुई वर्षअघि ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भए पनि साइड क्लियर नहुँदा निर्माण ढिलो गरी सुरु भएको छ । नगरप्रमुख भोजराज बोहराले अस्पताल निर्माण अगाडि बढेको बताउनुभयो ।

“अस्पताल निर्माणका लागि ठेक्का सम्झौता भए पनि आवश्यक जग्गाको व्यवस्थापन नहुँदा कार्य अगाडि बढ्न सकेको थिएन”, उहाँले भन्नुभयो, “जग्गा व्यवस्थापन गरी निर्माण व्यवसायीलाई तोकेता ग¥यौँ, साइड क्लियर भएपछि निर्माण अगाडि बढेको छ ।”

उहाँका अनुसार अस्पताल निर्माणका लागि शारदा माध्यमिक विद्यालयले सात कठ्ठा, सामुदायिक वनले पाँच कठ्ठा गरी १२ कठ्ठा जग्गा उपलब्ध गराएको छ । अस्पतालका लागि दुईवटा भवन, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीका लागि आवासीय भवन निर्माणका लागि योजना निर्माण गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टका अनुसारे दुई वर्षभित्रै निर्माणकार्य सक्ने गरी विसं २०७७ मा ठेक्का सम्झौता भएको थियो ।

अस्पताल निर्माण भई सञ्चालनमा आएपछि यस क्षेत्रका बासिन्दाले चिकित्सकीय सेवा लिनका लागि महेन्द्रनगर र भारततर्फ जानुपर्ने झन्झट हटेर जाने बताइएको छ । नगरपालिकामा हालसम्म दुईवटा स्वास्थ्यचौकी, दुईवटा चौबीस घण्टे बर्थिङ सेन्टर र १० आधारभूत स्वास्थ्य केन्द्र सञ्चलनमा छन् ।
रासस

तपाईको प्रतिक्रिया