सरल र दार्शनिक पुटका शशीको सम्झना

  चैत १३, २०७९

काठमाडौँ, १३ चैत : साहित्यकार तथा संस्कृतिकर्मीले साहित्यकार वासु शशी आफ्ना रचनामा सरलता र दार्शनिक पुट दिने भएकाले नै सर्वप्रिय भएको बताउनुभएको छ ।

यहाँ आज वासु शशी स्मृति परिषद्ले आयोजना गरेको कवि तथा नाटककार शशीको ८७औँ जन्मजयन्ती (जन्म विसं १९९३ चैत १३) तथा सम्मान कार्यक्रममा उहाँहरूले गुणस्तरीय रचनाले नै शशीलाई जीवित बनाएको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा साहित्यकार तथा संस्कृतिकर्मी तुलसी दिवस, परिषद्का अध्यक्ष गणेश रसिक र सचिव प्रद्युम्न जोशीले शशी सबै साहित्यकारका प्रिय भएको जनाउँदै उहाँको व्यक्तित्वले नयाँ पुस्ताका साहित्यकारलाई पनि आकर्षण गरेको बताउनुभयो ।

सो अवसरमा विसं २०७९ का लागि सम्मानपत्रका साथ गायक तथा सङ्गीतकार हिरण्य भोजपुरेलाई ‘वासु शशी साहित्य सम्मान’, कवि तथा निबन्धकार श्यामललाई ‘वासु शशी साहित्य पुरस्कार’ (रु २५ हजार) र उपप्राध्यापक डा गोपीकृष्ण खतिवडालाई ‘वासु शशी शोध पुरस्कार’ (रु २१ हजार) प्रदान गरिएको थियो । मेची बहुमुखी क्याम्पस, झापाका खतिवडाले ‘वासु शशीका नाटकमा नाट्यतत्व’ (२०७७) विद्यावारिधिका लागि शोध गर्नुभएको थियो ।

परिषद्ले प्रकाशन गरेको राजनीतिकर्मी तथा साहित्यकार रमेश रेग्मीद्वारा लिखित ‘मेरो छोरा फर्कनैपर्छ’ शीर्षक कथासङ्ग्रह पनि कार्यक्रममा विमोचन गरिएको थियो । साहित्यकार विश्वविमोहन श्रेष्ठले सम्मानित व्यक्तित्वको परिचय र सुमन वर्षाले विमोचित कृतिको समीक्षा गर्नुभएको थियो । साहित्यकार शशीका कविता, नाटक (नेपाली र नेपालभाषा), उपन्यास, अनुवाद, फिल्म र टेलिफिल्म, गीति एल्बम गरी करिब तीन दर्जन कृति प्रकाशित एवं प्रसारित छन् भने उहाँले विभिन्न पत्रपत्रिका सम्पादन पनि गर्नुभएको थियो । विविध सङ्घसंस्थामा रही सामाजिक एवं शैक्षिक सेवा पनि गर्नुभएका शशीको विसं २०५६ चैत ४ गते देहावसान भएको थियो ।रासस

तपाईको प्रतिक्रिया