भोजपुर गोल्डकप : एभिनिएर क्यामरु सेमिफाइनलमा प्रवेश

  चैत १३, २०७९

टक्सार (भोजपुर), १३ चैत भोजपुरमा जारी जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम क्वार्टरफाइनल खेलमा उदयपुरलाई ४–० गोलले हराउँदै एभिनियर फुटबल क्लब क्यामरुन सेमिफाइनलमा पुगेको छ ।

निर्धारित समयमा क्यामरुनको तर्फबाट ४ गोल हुँदा बसाहा युथ क्लब उदयपुरले कुनै पनि गोल गर्न सकेन । क्यामरुनका तर्फबाट खेलको छैटौँ मिनेटमा जर्सी नं १६ का खेलाडी नगुुइनी, खेलको ६८औँ मिनेटमा जर्सी नं १० का टिमबा, ७३औँ मिनेटमा जर्सी नं १५ का एन सनगोउ र अर्का जर्सी नं ४ का खेलाडी बोयोमोले एक÷एक गोल गर्दै आफ्नो सेमिफाइनलमा पुर्याए ।

प्रतियोगिताको म्यान अफ द म्याच क्यामरुनका नगुुइनी भएका छन् । मङ्गलबार हुने पहिलो सेमिफाइनल खेल आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ र डाँगीहाट युथ क्लब मोरङका बीचमा हुने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो ।

शुक्रबार भएको पहिलो क्वार्टरफाइनल खेलमा एनबिवाइसी सप्तरीलाई पराजित गर्दै आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ सेमिफाइनल प्रवेश गरेको छ । शनिबारको दोस्रो खेलमा युकेएफसी भारतलाई हराउँदै डाँगीहाट युथ क्लब मोरङ, सेमिफाइलको यात्रामा पुगेको हो ।

आइतबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा भगवती स्पोर्ट्स क्लब खोटाङलाई टाइब्रेकरमा हराउँदै गत वर्षको विजेता गोर्खा ब्वाइज रुपन्देही सेमिफाइनलमा पुगेको थियो ।

प्रतियोगितामा दुई बाहिरी र छ नेपाली गरी आठ टिमले सहभागिता जनाएका छन । प्रतियोगितामा युकेएफसी दार्जिलिङ भारत, एभिनियर फुटबल क्लब क्यामरुन, भोजपुर जिल्ला फुटबल सङ्घ, एनबिवाइसी सप्तरी, गोर्खा ब्वाइज रुपन्देही, डाँगीहाट युथ क्लब मोरङ, भगवती स्पोर्ट्स क्लब खोटाङ र बसाहा क्लब उदयपुर सहभागिता जनाएकोे खेल संयोजक आङपासाङ शेर्पाले जानकारी दिनुभयो । रासस

तपाईको प्रतिक्रिया