मण्डलामा ‘यौटा सपनाको अवसान’

  चैत १२, २०७९

काठमाडौँ, चैत ११ : रङ्गकर्मी अनुप बरालको निर्देशनमा तयार भएको नाटक ‘यौटा सपनाको अवसान’ मण्डला नाटकघरमा गत शुक्रबारदेखि मञ्चन सुरु गरिएको छ ।

सन् १९४९ मा अमेरिकामा पहिलोपल्ट मञ्चन भएको अमेरिकी नाटक ‘डेथ अफ अ सेल्समेन’लाई निर्देशक बरालले समसामयिक बनाएर प्रस्तुत गर्नुभएको हो ।

“हामीले सपनाको मूल्य चुकाउन बाध्य चरित्रलाई जीवन्त बनाएका छौँ । यो नाटक २५ वर्षअघि नयाँ दिल्लीको नेसनल स्कुल अफ ड्रामा (एनएसडी)मा विद्यार्थी हुँदा पढेको थिए ।

त्यसैले यसलाई मञ्चमा प्रस्तुत गरेको हुँ”, निर्देशक बरालले भन्नुभयो, “यसमा मध्यमवर्गीय परिवारको सकस छ । मेरो रुचि र नाटकको कथा मिलेपछि एनएसडीबाट फर्कन बित्तिकै यसको मञ्चन गर्न चाहेको थिए । यद्यपि त्यो समयमा नाटक बनाउन सकेनौँ ।”

यसको लागत खर्चिलो हुँदा मञ्चन गरिहाल्ने हिम्मत जुटाउन नसकेको जानकारी निर्देशक बरालले दिनुभयो । नयाँ नाटक गर्ने छलफलमा गोविन प्रोडक्सनका प्रबन्ध निर्देशक गोविन्द पराजुलीले निर्माणको अभिभारा लिएपछि नाटक मञ्चन भएको हो । नाटकमा रोयदिभ श्रेष्ठ, शेखर चापागाइँ, दिव्यदेव, दिया मास्के, मेनुका प्रधान, विकास जोशी, उत्पल झा आदि कलाकारले अभिनय गर्नुभएको छ ।

निर्देशक बरालले चार वर्षअघि गरिब र निमुखाको लासमाथि राजनीति गरेर ‘भोज’ गर्ने कुत्सित राजनीतिज्ञको कथा प्रस्तुत गर्ने ‘महाभोज’को निर्देशन गर्नुभएको थियो । ‘यौटा सपनाको अवसान’ मण्डला थिएटरको मञ्चमा एक महिनासम्म मञ्चन हुनेछ ।

तपाईको प्रतिक्रिया