चलचित्र निर्देशक समाजको अध्यक्षमा पराजुली

  चैत ११, २०७९

काठमाडौँ,  चैत ११ : नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप पराजुली निर्विरोध निर्वाचित हुनुभएको छ ।

आज काठमाडौँमा सम्पन्न १५औँ वार्षिक साधारणसभाबाट नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा सुचित्रा श्रेष्ठले दिनुभएको उम्मेदवारी फिर्ता लिएपछि निवर्तमान महासचिव पराजुली निर्विरोध निर्वाचित हुनुभएको हो ।

“संस्थालाई वैद्धिक र सिर्जनात्मक ढङ्गले अगाडि बढाउने, प्रविधिमैत्री बनाउने, अक्षयकोष सञ्चालन गर्ने, मास्टर क्लास गर्ने लगायतका एजेण्डा पूरा गर्नेछु”, नवनिर्वाचित अध्यक्ष पराजुलीले भन्नुभयो, “निर्देशकले मेरो संस्था भन्न सक्ने किसिमले काम गर्नेछु । मलाई विश्वास गरेर निर्विरोध बनाउनु भएकाले अवसरसँगै चुनौती पनि उत्तिकै छ ।”

कूल १५ सदस्यीय कार्यसमितिमा उपाध्यक्षमा सुभाष गजुरेल र दीपशिखा खड्का, महासचिवमा अरुणकुमार प्रधान, सचिवमा देवेन्द्र पाण्डे, कोषाध्यक्षमा समुन्द्र भट्ट, सहकोषाध्यक्षमा राज बस्न्यात निर्विरोध निर्वाचित हुनुभएको छ ।

सदस्यमा दीपक वली, सौरभ चौधरी, अम्बर ओली, सत्यराज चौलागाईं, उत्सव केसी, अमृतमान महर्जन निर्विरोध निर्वाचित हुनुभएको हो । महाधिवेशनमा दुई सह–सदस्यका भएको निर्वाचनमा सीमा गुरुङ र रामकुमार श्रेष्ठ निर्वाचित हुनुभयो ।

सङ्घले बढायो नृत्य कलाकारको पारिश्रमिक

नेपाल चलचित्र नृत्य सङ्घले चलचित्र, गीत सङ्गीतको भिडियोमा नृत्य गर्ने कलाकारले आगामी वैशाख १ गतेदेखि पाउने पारिश्रमिकमा वृद्धि गर्ने निर्णय गरेको छ ।

सङ्घका अध्यक्ष जनक कार्कीको अध्यक्षतामा बसेको बैठकले चलचित्रमा गीत छायाङ्कनमा एक दिनको तीन हजार, दुई दिनको पाँच हजार र तीन दिनको छ हजार पारिश्रमिक निर्धारण गरेको हो । यद्यपि विदेशी चलचित्रको हकमा दैनिक तीन हजार पारिश्रमिक तय गरिएको छ ।

म्युजिक भिडियोमा दैनिक दुई हजार पारिश्रमिक तय गरिएको छ । सङ्घका महासचिव दीपेन्द्र तिमल्सेनाले नृत्य कलाकारले पाइरहेको पारिश्रमिक न्यून रहेकाले बढाउने निर्णय गरेको जानकारी दिनुभयो ।

“अहिले एक हजारदेखि एक हजार पाँच सयसम्म पारिश्रमिक लिएर काम गर्न बाध्य छन् । निर्धारण गरिएको पारिश्रमिकले चलचित्र र म्युजिक भिडियोमा समानता ल्याएको छ ।”, महासचिव तिमल्सेनाले भन्नुभयो, “निर्धारण गरिएको पारिश्रमिकको विषयमा सम्बन्धित सङ्घसंस्थासँग छलफल गरिरहेका छौँ ।”

दैनिक ज्यालामा काम गरिरहेकाले बजारको मूल्यअनुसार पारिश्रमिकमा वृद्धि गरे पनि चलचित्र निर्माणको लागत बढिरहेको नेपाल चलचित्र निर्माता सङ्घको अध्यक्ष नवल खड्काले बताउनुभयो ।

“अस्वाभाविक रूपमा बढिरहेको पारिश्रमिकले निर्मातालाई समस्या पारिरहेको छ । बजारअनुसार कलाकार, प्राविधिक र निर्देशकले पारिश्रमिक लिए मात्र निर्माताले चलचित्र निर्माणलाई निरन्तरता दिनसक्छ”, अध्यक्ष खड्काले भन्नुभयो, “बढाउनुपर्नेको पारिश्रमिक बढाउन हामीलाई कुनै आपत्ति छैन ।”

उहाँले निर्देशक र कलाकारको पारिश्रमिक अस्वाभाविक रूपमा बढेको बताउँदै यसबारे कार्यसमितिको बैठक बसेर नै एउटा निर्णय लिने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया