समुदायलाई सूचना प्रवाह गर्न सामुदायिक रेडियो : राष्ट्रपति पौडेल

  चैत ११, २०७९

काठमाडौँ, चैत ११ : राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक र समुदायलाई सूचना प्रवाह गर्न सामुदायिक रेडियोको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

सामुदायिक रेडियो प्रसारक सङ्घका पदाधिकारीसँग आज शीतलनिवासमा भएको भेटमा राष्ट्रपति पौडेलले छिटो, छरितो, सत्यतथ्य सूचना प्रवाहमा सामुदायिक रेडियो प्रसारक सङ्घले खेलेको भूमिका तथा योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले नेपालमा आमसञ्चारमाध्यम खासगरी एफएम रेडियोले जनतामा सूचनाको पहुँच सहज बनाउन प्रभावकारी भूमिका निर्वाह गरेको छ भन्नुभयो । “सामुदायिक रेडियोका कारण गाउँ–गाउँसम्म आम नागरिकमा सूचनाको पहुँच सहज ढङ्गले पुगेको छ, यसका लागि तपाईँहरूलाई धन्यवाद छ, साथै स्थानीय उत्पादन र स्थानीय तहमा उत्पादनशीलताको विकास गर्न सामुदायिक रेडियोहरूको भूमिका विशेष छ”, उहाँले भन्नुभयो ।

स्थानीय तहमा उत्पादनशीलतालाई सामुदायिक रेडियोले प्रोत्साहन गरेको खण्डमा मुलुकको अर्थतन्त्रमा पनि सहयोग पुग्नेछ भन्दै उहाँले नेपालमा श्रमको सम्मान गर्ने संस्कृतिको विकास गनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति पौडेलले श्रमले तन र मन दुवै स्वस्थ बनाउने भएकाले यो अपरिहार्य भए पनि अहिले अलिकति पढेपछि काम गर्न हुँदैन भन्ने खालको मनोविज्ञान र धारणा निर्माण भइरहेको बताउनुभयो ।

सो अवसरमा सामुदायिक रेडियो प्रसारक सङ्घले राष्ट्रपति पौडेललाई उक्त पदमा निर्वाचित हुनुभएकामा हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेको थियो । साथै सङ्घका अध्यक्ष अर्जुन गिरीले राष्ट्रपति पौडेललाई रेडियो सेट उपहार दिनुभयो ।

तपाईको प्रतिक्रिया