अविरल जनसाहित्य यात्रामा हाचेकालीका कविता

  चैत ११, २०७९

काठमाडौँ, चैत ११ : राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालको अविरल जनसाहित्य यात्राको ७७ औँ मासिक शृङ्खलामा आज प्रगतिवादी कवि सुरेश हाचेकालीका एक दर्जन कविता प्रस्तुत भएका छन् ।

कवि हाचेकालीले ‘मलाई नागरिक नभन्नू’, ‘लामपाते महात्म्य’, ‘हजुरआमाको इतिहास’, ‘नवनायकका नाउँमा’, ‘दुम्सीकाँडे काठमाडौँ’, ‘बलात्कृत फूलकी छोरी’, ‘माटोको कैरन’, ‘म बाँचिरहन लोभिन्छु’ र ‘गाउँले मुखियाको नाति’ शीर्षकका कविता वाचन गर्नुभयो । कवि डम्बर पहाडी ‘एलाक’ले हाचेकालीको ‘जीवनै जीवनको दिग्विजय’, कवि हेम भण्डारीले जमुवावालीको मट्टीगीत’ र कवि नमूना शर्माले ‘सीमान्त आमाहरू’ शीर्षकका कविता वाचन गर्नुभयो ।

वाचित कवितामाथि टिप्पणी गर्दै समालोचक डा षडानन्द पौड्यालले समकालीन कवितामा अलमल, दुर्वोध्य र गन्तव्यहीनता देखिइरहेको सन्दर्भमा हाचेकालीका कवितामा भने नेपाली ग्रामीण समाजको जीवनभोगाइको जीवन्त प्रकटीकरण र सशक्त राष्ट्रवादी चेत एवं सुन्दर विम्बहरू पाइने बताउनुभयो ।

वरिष्ठ वामपन्थी नेता गोपाल शाक्यले प्रस्तुत कवितामा विभेद, उत्पीडन, शोषणका कुराहरू आएका, नेपाली समाजको चित्र खिचिएको र रूपान्तरणको आग्रह गरिएको बताउनुभयो । “समाजको रूपान्तरण कानुन बनाएर मात्र हुँदैन, साहित्यले समाजलाई बदल्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । साहित्यले दुःख र उत्पीडनको अन्त्यको आग्रह र सुखको खोजी गर्दछ । अब हामी सबैले प्रकृति र मानवको अन्तरसम्बन्धको खोजी गर्ने र त्यसैमा केन्द्रित रहेर कविता सिर्जना गर्नु जरुरी छ”, पूर्वमन्त्री शाक्यले भन्नुभयो ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले प्रस्तुत कविताले पूर्वीय ग्राम्य समाजको परिवेश, जीवन भोगाइ, उत्पीडन र विभेदको सुन्दर चित्र खिचेको सुनाउनुभयो ।

सङ्घका अध्यक्ष राम विनयले साहित्यमा वर्गीय प्रेम हुने भएकाले बिनाभेदभाव सबैलाई समान अवसर प्रदान गर्दै सिर्जनामा रहेका कमी–कमजोरी सुधार्ने उद्देश्यका साथ वाचित रचनामाथि विशेषज्ञ व्यक्तित्वद्वारा समीक्षा गर्ने प्रचलन राखिएको अवगत गराउनुभयो ।

सो शृङ्खला संयोजन समितिका संयोजक डा हरिप्रसाद सिलवालले कवि हाचेकाली २०६६ सालमा ‘सीमान्त आमाहरू’ कवितासङ्ग्रह, साझा प्रकाशनबाट ‘चक्रव्यूह सञ्चेतना’ सैद्धान्तिक समालोचनासङ्ग्रह प्रकाशित गराएका र साहित्यका बहुल अर्थको उद्घाटन समालोचनाले गर्नुपर्छ भन्ने मान्यताका साथ अनुसन्धान गरिरहेका समालोचक व्यक्तित्व भएको बताउनुभयो ।

सङ्घका उपाध्यक्ष रमेश पोखरेलले आगामी महिना स्रष्टा गणेश घिमिरे ‘मार्मिक’लाई प्रस्तुत गरिने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया