काठमाडौँ, चैत १० : भारतमा भएको चौथो एसियाली खो खो च्याम्पियनसीपमा रजत पदक जितेको नेपाली टोली आज स्वदेश फर्किएको छ ।
यही चैत ६ देखि ९ गतेससम्म भारतको आसामस्थित गुवाहटीमा भएको उक्त प्रतियोगितामा नेपाली पुरुष÷महिला दुवै टोलीले रजत जितेको नेपाल खो खो सङ्घका कार्यवाहक अध्यक्ष प्रदीप महर्जनले जानकारी दिनुभयो । उक्त प्रतियोगिताअन्तर्गत समूह ‘ए’ को लिग चरणका खेलमा नेपालले इरान र भूटानलाई पराजित गरेको थियो भने भारतसँग पराजित भएको थियो ।
सेमिफाइनल खेलमा नेपालले बङ्गलादेशलाई हराउँदै भारतसँग उपाधि भिडन्त पक्का गरेको थियो । फाइनलमा पनि नेपाल भारतसँग पराजित भयो । उक्त प्रतियोगितामा विभिन्न आठ राष्ट्र सहभागी थिए ।
महिलामा पनि आठ राष्ट्र नै सहभागी थिए । समूह ‘बी’ मा रहेको नेपालले दक्षिण कोरिया, बङ्गलादेश र इण्डोनेसियालाई पाखा लगाउँदै समूह विजेताका रूपमा सेमिफाइनल यात्रा तय गरेको थियो । सेमिफाइनलमा नेपालले श्रीलङ्कालाई पछि पार्दै फाइनलमा प्रवेश गरेको थियो । फाइनलमा नेपाल भारतसँगै चुक्यो ।
नेपाली टोलीलाई नेपाल खो खो सङ्घका कार्यवाहक अध्यक्ष महर्जनलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलामा स्वागत गर्नुभयो । सहभागी नेपाली पुरुष खेलाडीमा राजन बल, हेमराज पनेरु, गणेश विक, जनक चन्द, गौरव रोकाया, विष्णु थारु, भरत सारु, रोहितकुमार वर्मा, विकरालसिंह रत्गइया, प्रवेज आलम, वेदबहादुर ओली र कपिलदेव भट्ट थिए । महिला खेलाडीमा सरस्वती कडायत, विनु तामाङ, निशा शाही, निर्मला गिरी, पूजा ओड, अञ्जली थापा मगर, दीपा विक, पुनम थारु, आशा थारु, अनिशा गोले, खुश्बु राणा र मनमति धामीले सहभागिता जनाएका थिए ।
प्रशिक्षकमा क्यामुद्दिन मन्सुर र लक्ष्मीनारायण वैद्य, सहायक प्रशिक्षकमा खगेन्द्रबहादुर शाही र भीमबहादुर लामा तथा निर्णायकमा दिलीपकुमार महर्जन र नागेन्द्र बज्राचार्य रहेका छन् ।