सामाजिक रूपान्तरणमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण छ : प्रधानमन्त्री प्रचण्ड

  चैत ०९, २०७९

काठमाडौँ, ९ चैत  : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले सूचनामा नागरिकको पहुँच बढाउनुका साथै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि नेपालका सामुदायिक रेडियोले भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

यहाँस्थित बिहीबार सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराबको राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले सो धारणा सार्वजनिक गर्नुभएको हो ।

उहाँले सामाजिक विभेद, कुरीति एवं विसङ्गतिका विरूद्ध खरो रूपमा प्रस्तुत हुँदै सामाजिक जागरण एवं रूपान्तरणका क्षेत्रमा यहाँहरूले निर्वाह गर्नुभएको भूमिकाले सभ्य समाजको निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै रेडियोकर्मीहरूमा उहाँले धन्यवाद ज्ञापन गर्नुभयो । ।

सामुदायिक रेडियो प्रसारक सङ्घ ९अकोराब०को राष्ट्रिय सम्मेलनमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको सम्बोधन

कार्यक्रमका अध्यक्षज्यू,

विशिष्ट अतिथिज्यूरू,

रेडियो क्षेत्रका विज्ञ विदेशी पाहुनाहरू,

कूटनीतिक नियोगका प्रतिनिधिज्यूहरू,

देशभरिका रेडियोहरूबाट प्रतिनिधित्व गर्दै आउनुभएका सामुदायिक रेडियो प्रसारक, रेडियोकर्मी तथा रेडियोप्रेमीहरू,

उपस्थित आदरणीय महानुभावहरू ।

विश्व इतिहासमा रेडियोको इतिहास १२८ वर्ष पुरानो मानिन्छ । नेपालमा २००७ सालमा पहिलोपटक प्रजातन्त्र रेडियो नेपालको स्थापना भएसँगै विद्युतीय सञ्चारमाध्यमको प्रारम्भ हुन पुग्यो । रेडियोको स्थापनासँगै शिशु अवस्थामा रहेको प्रजातन्त्रको सुदृढीकरण र जनसमुदायमा लोकतान्त्रिक चेतनाको विकासमा महत्वपूर्ण योगदान पुग्यो । आज देशभरि ६०० भन्दा बढी रेडियोहरू सञ्चालनमा आएका छन्, हजारौँ सञ्चारकर्मीहरू रेडियोमा कार्यरत हुनुहुन्छ, लाखौँ स्रोताको सूचना एवं समाचारको प्राथमिक माध्यम रेडियोहरू हुने गरेका छन् । यो आफैँमा महत्वपूर्ण उपलब्धि हो ।

नेपालको सन्दर्भमा सामुदायिक रेडियोहरूले एफएम रेडियो प्रविधिका माध्यमबाट नेपाली जनताको सूचनाको हक प्रवाहका लागि महत्वपूर्ण भूमिका खेलेका छन् । सरकारको मुख्य साझेदारको रूपमा भूमिका निर्वाह गर्दै आएको र सूचनामा नागरिकको पहुँच बढाउनुका साथै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि नेपालका सामुदायिक रेडियोले प्रमुख भूमिका निर्वाह गर्दै आएका छन् । यो हामी सबैका लागि खुसीको विषय हो ।

राजनीतिक परिवर्तनका लागि गरिएको जनयुद्ध, दोस्रो जनआन्दोलन एवं न्याय, समानता र स्वतन्त्रताका पक्षमा भएका न्यायपूर्ण आन्दोलनहरूमा रेडियोले महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । शान्ति प्रक्रिया र संविधान निर्माणको प्रक्रियामा सामुदायिक रेडियोहरूले जुन भूमिका निर्वाह गरेका थिए, संविधान र लोकतन्त्रमाथि गरिएका प्रहारको विरूद्ध र लोकतान्त्रिक प्रणालीको विकासका निम्ति रेडियोले खेलेको भूमिका त्यत्तिकै महत्वपूर्ण छ । साथै सामाजिक विभेद, कुरीति एवं विसङ्गतिका विरूद्ध खरो रूपमा प्रस्तुत हुँदै सामाजिक जागरण एवं रूपान्तरणका क्षेत्रमा यहाँहरूले निर्वाह गर्नुभएको भूमिकाले सभ्य समाजको निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक मुलुक भएको यथार्थलाई हृदयङ्गम गरी देशको भाषिक र सांस्कृतिक विविधता संरक्षण र संवर्धनमा रेडियोहरूले लिएको पहलकदमी स्मरणीय छ । मातृभाषाका माध्यमद्वारा विभेदमा पारिएका, सूचनाको पहुँच एवं भाषिक ज्ञानको अभावमा राष्ट्रिय मूलप्रवाहीकरणबाट वञ्चितिकरणमा पारिएका स्रोताहरूका लागि विविध भाषाका समाचार र खोजमूलक सामग्री निकै प्रभावकारी देखिएका छन् । राष्ट्रको महत्वपूर्ण पुँजीको रूपमा काम गरिरहेका यस्ता सञ्चारमाध्यमको दिगो विकास एवं व्यवस्थापनको जिम्मेवारी हाम्रो साझा जिम्मेवारी हुन आइपुगेको छ । यसतर्फ गम्भीर रूपले ध्यान दिन सम्बद्ध सबैमा आग्रह गर्दै वाक् तथा प्रेस स्वतन्त्रता र सञ्चारमाध्यमहरूको सबलीकरणमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग हुने प्रतिबद्धता व्यक्त गर्दछु।

 

तपाईको प्रतिक्रिया