कृषि उपज बिक्री सुनिश्चितता कार्यक्रम

  चैत ०४, २०७९

रेसुङ्गा,चैत ४ : गुल्मीको मुसिकोट नगरपालिकाले किसानका उत्पादन खरिद गर्ने नमूना कार्यको सुरुआत गरेको छ । किसानलाई उत्पादनमा प्रोत्साहन गर्दै उत्पादित सामग्रीको बजारको प्रत्याभूति गर्ने गरी नगरपालिकाले ‘कृषि उपज बिक्री सुनिश्चितता’ कार्यक्रमको सुरुआत गरेको हो ।

नगरपालिकाका प्रमुख जीवन खरेलले कार्यभार सम्हाल्दै गर्दा किसानको बजार सुनिश्चितताको घोषणा गर्नुभएको थियो । जसअन्तर्गत नगरपालिकाले किसानको उत्पादन खरिद गर्ने र त्यसलाई बिक्री वितरण गर्ने गरी कृषि उपज सङ्कलन तथा बिक्री वितरण केन्द्रसमेत निर्माण गरेको हो ।

नगरपालिकाले चालु आर्थिक वर्षमा यस कार्यक्रमलाई रु ३० लाख विनियोजन गरेको छ । नगरपालिकाले किसानबाट उत्पादित वस्तु तथा सेवालाई आफँैले खरिद गर्ने प्रमुख प्रशासकीय अधिकृत विनोद कुँवरले जानकारी दिनुभयो । जसका लागि वडास्तरमा सङ्कलन केन्द्र बनाइएको छ । सङ्कलन केन्द्रमा गएर किसानले आफूसँग भएका कृषि सामग्री बेच्न सक्नेछन् ।

नगरपालिकाको ट्र्याक्टरमार्फत उक्त सामग्री नगरको केन्द्र वामीटक्सारमा निर्माण गरिएको सङ्कलन तथा बिक्री केन्द्रमा भण्डारण गर्ने र त्यसपश्चात ती सामग्रीलाई नगर आफैँले बिक्री गर्नेछ ।

किसानले उत्पादन गरेका सबै वस्तु नगरपालिकाले खरिद गरी नाफा–नोक्सानको पर्वाह नगरी उपभोक्तालाई बिक्री गर्नेछ । यसरी किसान र उपभोक्ता दुवैलाई थप राहत हुने अपेक्षा गरिएको हो ।

यस कार्यक्रम सञ्चालन तथा अनुदानसम्बन्धी कार्यविधि, नगरपालिकाको कृषि व्यवसाय प्रवद्र्धन ऐन २०७४ लगायतका ऐन तथा कार्यविधि निर्माण गरी उत्पादन बढाउने र बजारको सुनिश्तिता गर्ने गरी नगरपालिका अगाडि बढेको कृषि अधिकृत जनक पौडलले जानकारी दिनुभयो ।

उहाँका अनुसार कृषि उपज बिक्री सुनिश्चितता कार्यक्रमका लागि विभिन्न निर्देशक समिति, कार्यक्रम कार्यान्वयन तथा मूल्य निर्धारण समिति र उपसमिति निर्माण गरिएको छ ।

किसानले ठूलो परिमाणमा कृषि सामग्री उत्पादन गरेमा घरमै गएर खरिद गर्ने योजना रहेको नगरपालिकाका उपप्रमुख गङ्गा श्रेष्ठले बताउनुभयो । उत्पादन भएका वस्तुको बजारीकरण र किसानका उत्पादनलाई उचित मूल्यको समेत व्यवस्था गरिने उहाँको भनाइ छ ।

नगरले पहिलो चरणमा केही दिनभित्रै स्थानीयस्तरमा उत्पादित तरकारीजन्य सामग्री खरिद गर्ने भएको छ । त्यसका लागि केही दिनभित्र तरकारीको मूल्य निर्धारण गरिने र खरिदको प्रक्रिया सुरु गर्ने नगरको तयारी छ ।

किसानलाई उत्पादनदेखि बजारीकरणसम्म आइपर्ने समस्याको समाधान गर्ने र उत्पादित सामग्रीलाई बजारीकरणको व्यवस्था नगरपालिकाले गर्ने नगरप्रमुख खरेलले बताउनुभयो ।

“कृषि क्षेत्रमा किसान आकर्षित गर्ने र उपभोक्तालाई समेत राहत दिने हाम्रो योजना हो”, उहाँले भन्नुभयो, “चुनौतीपूर्ण देखिए पनि यसलाई दीर्घकालीनरूपमा अगाडि बढाउँछौँ”, नगरपालिकाका प्रमुख खरेलले कृषि सामग्री ढुक्क भएर उत्पादन गर्न नगरवासीलाई आग्रह गर्नुभयो ।

नगरपालिकाले किसानका उत्पादनको मूल्य निर्धारण गरी सोझै खरिद गर्ने तयारी गरेको छ । नगरभित्र रहेका किसानलाई आफूले उत्पादन गर्ने कृषि बाली तथा वस्तुको मासिक तथा वार्षिक बिक्री योग्य परिमाण खुलाइ वडा कार्यालयमा सम्पर्क गर्न आग्रहसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया