विकासका योजना प्राथमिकतामा

  चैत ०४, २०७९

विराटनगर,चैत ४ : विराटनगर महानगरपालिकाले दक्षिण क्षेत्रलाई प्राथमिकतामा राखेर विकासका योजना अघि सारेको छ । उत्तरी क्षेत्रभन्दा दक्षिण क्षेत्र तुलनात्मक रुपमा विकासमा पछि परेको भन्दै महानगरले विकासका योजनालाई प्राथमिकतामा राखेर काम सुरु गरेको हो ।

केही हप्ताअघि वडा नं १४ स्थित रानीपोखरीमा रु पाँच करोडभन्दा बढीको लागतमा निर्माण हुने ग्रिनपार्कको शिलान्यास गरेको महानगरले सोही ठाउँमा अवस्थित मन्ठापोखरीको सौन्दर्यकरणको काम सुरु गरेको छ ।

मन्ठापोखरी परिसरमा निर्माण हुने संरचनाको महानगरले शुक्रबार शिलान्यास गरेको छ । रु छ करोडभन्दा बढी लागतमा निर्माण हुने सुविधा सम्पन्न पार्कको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले शिलान्यास गर्नुभएको हो ।

चुनावताका जनताको बीचमा गरेको प्रतिबद्धताअनुसार तीन योजना सुरु भइसकेको प्रमुख कोइरालाको भनाइ थियो । “मैले चुनावताका गरेका वाचा क्रमशः पूरा गर्दैछु”, प्रमुख कोइरालाले भन्नुभयो, “प्राचीन विराटराजाको दरबारको संरचना सञ्चालनमा आइसकेको छ । रानीपोखरीको पार्क निर्माण पनि सुरु भएको छ भने मन्ठापोखरीको पनि काम सुरु भएको छ ।”

महानगरले चालु आवका लागि विराटराजा, रानीपोखरी र मन्ठापोखरीका लागि रु तीन करोड विनियोजन गरेको थियो । प्रमुख कोइरालाले विकासका ठूला योजनामार्फत दक्षिणी क्षेत्रको विकासलाई गति दिएको जनाइएको छ ।

वडा नं १४ का अध्यक्ष सूर्यनारायण महतो, १५ का प्रकाश साह र १८ का जितेन्द्रकुमार साहले दक्षिणी क्षेत्रको विकासले अब गति लिने बताउनुभयो । उहाँहरूले सञ्चालनमा रहेका योजना छिटो सम्पन्न गर्न सहजीकरण गर्नेसमेत प्रतिबद्धता जनाउनुभएको छ ।

आगामी २०८१ माघ १९ गतेभित्र सम्पन्न गर्ने सम्झौता भए पनि अबको एक वर्षभित्र निर्माण सम्पन्न गर्ने ठेक्का पाएको कला विल्डर्सका प्रबन्धक सञ्जयकुमार यादवको भनाइ छ । “मलाई लाग्छ एक वर्षभित्रै हामी काम सकेर महानगरलाई हस्तान्तरण गर्नेछौँ”, यादवले बताउनुभयो ।

कला विल्डर्सले रु छ करोड १९ लाख ८६ हजार ठेक्का सम्झौता गरेको छ । मन्ठापोखरीको सौन्दर्यकरणसँगै पार्कसमेत निर्माण हुनेछ । पोखरी परिसरभित्र खुल्ला हल, भजन सेट, डबली, चौतारी, पानीको फोहोरा, बैठक कोठा, सुविधा सम्पन्न शौचालय, व्याडमिन्टन कोर्ट निर्माण गरिनेछ ।

पश्चिम र दक्षिणमा आकर्षक प्रवेशद्वारसमेत निर्माण हुने कला विल्डर्सले जनाएको छ । विल्डर्ससित गत माघ १८ गते निर्माण सम्झौता भएको थियो । रु पाँच करोड १७ लाख ६४ हजार मा ठेक्का लागेको रानीपोखरी ग्रिनपार्कको निर्माण धमाधम भइरहेको छ ।

तपाईको प्रतिक्रिया