उपराष्ट्रपति निर्वाचन : मतगणना सुरु, केहीबेरमा नतिजा आउने

  चैत ०३, २०७९

काठमाडौँ, चैत ३ : मुलुकको तेस्रो उपराष्ट्रपति पदको निर्वाचनका लागि आज भएको मतदान सम्पन्न भएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान भएको हो ।

मतदानमा तीन सय ११ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गर्नुभएको थियो । बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म भएको थियो ।

केहीबेरमै सोही स्थलमा मतगणना प्रारम्भ हुने र आजै उपराष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

नयाँ उपराष्ट्रपतिका लागि जनता समाजवादी पार्टी नेपालका रामसहायप्रसाद यादव, नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झा उम्मेदवार हुनुहुन्छ ।

उपराष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुन्छ ।

निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ सांसद र प्रदेशसभाका पाँच सय ५० प्रदेशसभा सदस्य मतदाता छन् । सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ कायम रहेको छ ।

राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने संवैधानिक व्यवस्था छ । उपराष्ट्रपति मर्यादाका हिसाबले राज्यको दोस्रो माथिल्लो पद हो ।

नेपालको संविधानमा उपराष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने उल्लेख छ । यसैगरी दुई पटक उपराष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन नसक्ने संवैधानिक प्रावधान छ ।

मतगणना सुरु, केहीबेरमा नतिजा आउने
आज सम्पन्न उपराष्ट्रपति निर्वाचनको मतगणना नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सुरु भएको छ । केही बेरमै नतिजा आउने उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचनमा संघीय तथा प्रदेशसभाका सांसद गरी कुल ८ सय २९ मत खसेको छ । प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका ३ सय ११ र प्रदेशसभातर्फ ५ सय १८ सांसदले मतदान गरेका थिए ।

संघीय संसदतर्फका ३ सय ३२ र प्रदेशसभामाका ५ सय ५० सांसद मतदाता रहेका थिए । राप्रपाका १४ र नेपाल मजदुर किसान पार्टीका १ सांसद मतदानमा सहभागी भएनन् । त्यसैगरी राष्ट्रपति रामचन्द्र पौडेल, एमालेका लक्ष्मी महतो, कांग्रेसका चन्द्र भण्डारी, माओवादी केन्द्रका वर्षमान पुन अनुपस्थित रहेका थिए ।

उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव, एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा प्रतिस्पर्धामा छन् । जसपाकै उम्मेदवार प्रमिलाकुमारी यादवले भने आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया