‘यौटा सपनाको अवसान’ तयारी गर्दै अनुप बराल

  चैत ०१, २०७९

काठमाडौं, १ चैत : समसामयिक विषयलाई चोटिलो गरी प्रस्तुत गर्नुहुने नाट्य निर्देशक अनुप बरालले ‘यौटा सपनाको अवसान’ को तयारी गर्दै हुनुहुन्छ । खुसी छाडेर सुखको पछि लाग्नेहरुको कथा नाटकमा प्रस्तुत गरिने उहाँले जानकारी दिनुभयो ।

“नाटकले खुसी र सुखको परिभाषालाई बहसमा ल्याउने छ । यो अमेरिकी नाटक ‘डेथ अफ अ सेल्समेन’को नेपाली अनुवाद हो । आर्थर मिलरद्वारा लिखित नाटकलाई विप्लव प्रतीकले नेपालीमा अनुवाद गर्नुभएको हो”, निर्देशक बरालले भन्नुभयो । नाटक विधातर्फ पुलित्जर पुरस्कार र टोनी अवार्ड जित्न सफल यो नाटकलाई २०औँ शताब्दीको उत्कृष्ट नाटकमध्ये एक मानिन्छ । अमेरिकामा सात सयभन्दा बढी पटक मञ्चन भएको यो नाटक विश्वका धेरै देशमा पनि मञ्चन भइसकेको छ ।

शेखर चापागाईं, दिव्यदेव, दिया मास्के, मेनुका प्रधान, विजय बराल, विकास जोशी, रोयदिभ श्रेष्ठलगायत कलाकारको अभिनय रहने उक्त नाटक चैत १० गतेदेखि सुरु भएर एक महिनासम्म चल्नेछ । निर्देशक बरालले तीन वर्षअघि मान्छेको लासमाथि भोज गर्ने राजनीतिज्ञलाई तिखो व्यङ्ग्य गरेको नाटक ‘महाभोज’ मा निर्देशन गर्नुभएको थियो । एक्टर्स स्टुडियो र मण्डला थिएटरसँगको सहकार्यमा गोविन्द पराजुलीले यो नाटक निर्माण गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया