तनहुँ, फागुन २९ : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज कार्यभार सम्हाल्नुभएपछि उहाँको गृह जिल्लाका बासिन्दा हर्षित भएका छन् ।
विकास प्रेमी नेता देशको उच्च ओहोदामा पुग्नुभएकाले विकास निर्माण कार्यले काँचुली फेर्ने विश्वाससहित जिल्लावासीले खुसी गरेका हुन् ।
नवनिर्वाचित राष्ट्रपति पौडेलको जन्मघर व्यास नगरपालिका–८ रिस्तीमा पर्दछ । रिस्तीमा हुर्किएका व्यक्ति राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि सबै गाउँवासीमा खुसी छाएको व्यास नगरपालिका–८ रिस्तीका स्थानीयवासी राजु गुरुङले बताउनुभयो ।
एक निष्ठावान् व्यक्ति धेरै लामो राजनीतिक यात्रामा नेपालको लोकतान्त्रिक अभियान, संविधानको संरक्षण र संविधानवादका आधारभूत मूल्य मान्यताको लागि निरन्तर लडिरहने व्यक्ति भएको व्यास नगरपालिका तनहुँका प्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो ।
निष्ठाको राजनीतिले एउटा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अवसर मिलेको उहाँले बताउनुभयो । लोकतान्त्रिक अभियान र संविधानको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाहमा उहाँको योगदान अतुलनीय रहेको उहाँले बताउनुभयो ।
राष्ट्रपति पौडेलको जन्म घर हाल भग्नावशेष अवस्थामा रहेकाले त्यसको पुनःनिर्माण गरी संरक्षण गर्नुपर्नेमा स्थानीय बासिन्दाले जोड दिएका छन् । व्यास नगरपालिका–२ अमरापुरीमा पनि उहाँको घर छ ।






