पोखरिया, फागुन २८ : वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४७औँ साधारणसभामा उद्योगी व्यवसायीले आफूहरू उपेक्षित भएको गुनासो गरेका छन् ।
वरिष्ठ साहित्यकार ध्रुवचन्द्र गौतमको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाका वक्ता एवं अधिकांश उद्योगी व्यावसायीहरूले बैंकको ब्याजदरका कारण आफूहरूका उद्योगधन्दा मारमा परेका बताएका हुन् ।
बैंक ब्याजदरविरुद्ध ठटेर लाग्नुपर्नेमा भन्दै उद्योग र उद्योगीहरू टाट पल्टिने अवस्था आइसक्दा पनि बेवास्ता गरिएको गुनासो उनीहरूको गुनासो छ ।
उनीहरूले वीरगञ्जको नाका व्यापार तथा राजस्व दुवैका लागि महत्वपूर्ण भएको भए पनि सरकारले उद्योगीहरूको हितमा काम नगरेको आरोपसमेत लगाए ।
कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले उद्योगव्यवसाय र बैंकबीच मतभेद उत्पन्न भएको बताउनुभयो । उहाँले देशको आर्थिक पाटो सबल बनाउनेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कञ्चनजङ्गादेखि कञ्चनपुरसम्मका उद्योगीहरू हाल काठमाडौँमा बैंक ब्याजको विरोधमा सडकमा ओर्लिएको अवस्था छ ।”
त्यस्तै, सांसद अजय चौरसियाले उद्योगी–व्यवसायीको वास्तविक समस्या संसद्मा उठाउने प्रतिबद्धता व्यतm गर्दै उद्योगी व्यवसायीको माग सम्बोधन गर्नुपर्ने बताउनुभयो । पूर्वसांसद ओमप्रकाश शर्माले उद्योगी–व्यवसायी सबै मिलेर अघि बढ्नुपर्ने र माग पूरा गराउन दबाब दिनुपर्ने अवस्था रहेको बताउनुभयो ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा सुबोध गुप्ताले वर्तमान परिवेशमा देशभरिकै निजी क्षेत्रको मनोबल खस्किरहेका बेला निजी क्षेत्रको एकमात्र सर्वोच्च सङ्घीय संस्था उद्योग वाणिज्य महासङ्घले निजी क्षेत्रको मनोबल उच्च राख्न तत्काल गहन भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले बैंकको ब्याजदर एकल अङ्कमा राख्नुपर्ने, वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरलाई सरकारले विधिवत् रुपमा मान्यता प्रदान गर्नुपर्नेलगायतका मागसहित प्रतिवेदन प्रस्तुत गर्नुभयो ।






