लोक कल्यायणका लागि नेपालमा पहिलोपटक श्री विष्वक्सेन इष्टि महायज्ञ

  फागुन २८, २०७९

काठमाडौँ, फागुन २८ : विश्व शान्ति, विघ्नहरण र लोक कल्यायणका लागि नेपालमा पहिलोपटक श्री विष्वक्सेन इष्टि महायज्ञ चलिरहेको छ ।

जीयर शैक्षिक संस्था नेपाल, विकास तरङ्गिणी एवं श्री वेङ्कटेश मन्दिर तथा सेवा सदन निर्माण समितिले आयोजना गरेको कार्यक्रममा दैनिक हजारौँ मानिस सहभागी भइरहेका छन् ।

काठमाडौँ महानगरपालिका–६ श्रीनिवास नगर कुमारीगालमा भइरहेको महायज्ञमा श्री जीयर शैक्षिक ट्रष्टका संस्थापक त्रिदण्डी चिन्न श्रीमन्नारायण रामानुज जीयर स्वामी पनि नेपाल आउनुभएको छ ।

उहाँको उपस्थितिमा फागुन २५ गतेदेखि महायज्ञ सुरु भएको हो । स्वामीको नेपाललगायत १३ देशमा आश्रम रहेको जनाइएको छ । संस्कृत एवं आगम शास्त्रको रक्षाका लागि काम गर्दै आउनुभएका स्वामीले विभिन्न स्थानमा गुरुकूल एवं शैक्षिक संस्था सञ्चालन गर्नुभएको छ ।

नेपालमा पनि पञ्चदिवसीय कार्यक्रमबाट जम्मा भएको स्रोतले श्री वेङ्कटेश मन्दिरसहित गुरुकूल र सेवा सदन निर्माण गरिने छ । फागुन २५ गते स्वामीले नै श्री वेङ्कटेश मन्दिरको शिलान्यास गर्नुभएको छ ।

नारायणसंहितामा उल्लेख भएको विष्वक्सेन महायज्ञमा नेपाल र भारतका करिब ७० जना ब्राह्मण गुरुको सहभागिता रहेको छ । नवकुण्डात्मक महायज्ञमा पाञ्चरात्र आगम विधिअनुसार महायज्ञ भइरहेको छ ।

शास्त्रीय मान्यता अनुसारका हवनीय वस्तुको महायज्ञमा प्रयोग गरिरहेको वाल्मीकि विद्यापीठका प्रा डा पद्मप्रसाद भट्टराईले राससलाई जानकारी दिनुभयो । महायज्ञमा स्थानीय गाईको घ्यु नै प्रयोग भइरहेको छ ।

महायज्ञमा शुक्ल यजुर्वेद, कृष्ण यजुर्वेद र सामवेद, रामायणलगायत ग्रन्थको पाठ पारायण पनि भइरहेको छ । पाँच दिनको यो कार्यक्रममार्फत वेद विद्याको रक्षा गर्ने मुख्य उद्देश्य राखिएको छ । महायज्ञमा श्री वेङ्कटेश मन्दिर निर्माणका लागि विनोद मोर एकै जनाले रु २५ लाख सहयोग गर्नुभएको जानकारी पनि उहाँले दिनुभयो ।

जीयर शैक्षिक संस्थाअन्तर्गत विकास निर्माणका काममा विकास तरङ्गिणी नामक संस्थाले काम गरिरहेको संयोजक उमा भट्ट पराजुलीले बताउनुभयो ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएको नन्दी रात्रि माध्यमिक विद्यालयको भवन पनि करिब रु दुई करोडको लागतमा संस्थाले नै निर्माण गरिदिएको जानकारी पनि उहाँले दिनुभयो । देशभर यस्ता सेवाका अन्य काम पनि गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया