मौलिक भजन संरक्षणका लागि आठ संस्था र पाँच स्रष्टालाई सम्मान

  फागुन २८, २०७९

काठमाडौँ, २८ फागुन । पछिल्लो समय लोपोन्मुख अवस्थामा पुगेका मौलिक भजनको संरक्षणका लागि नियमितरुपमा भजन गरिरहेका आठ वटा संस्था र पाँच जना स्रष्टालाई सम्मान गरिएको छ ।

केसु भजन ज्ञान गुठीले आयोजना गरेको कार्यक्रममा योगाम्बर भजन मण्डल, काठमाडौँ महानगरपालिका–१६, नयाँबजार, सिद्धिविनायक भजन खलःधुसिटोल, पाँगा, कीर्तिपुर, भास्तीपुर ज्ञानमाला भजन खलःचन्द्रागिरि नगरपालिका–१२, बलम्बु, विष्णुदेवी भजन मण्डल, चन्द्रागिरि नगरपालिका–१५, भीमसेन भजन मण्डल, काठमाडौँ महानगरपालिका–२०, भीमसेनस्थान, त्रिरत्न भजन सङ्घ, ओकुुबहाल, ललितपुर, दत्तात्रय नव दाफा भजन, भक्तपुर र रुद्रायणी भजन मण्डल, खोकना, ललितपुरलाई सम्मानित गरिएको हो ।

कार्यक्रममा भजन सर्जक भृगुराम श्रेष्ठ, जगमोहन वामी, चन्द्रकला शाह, लोक भजन गायिका तथा रचनाकार शिला पन्त र युवा भजन गायक तथा सर्जक रामभक्त जोजीलाई पनि सम्मान गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्राज्ञ दीनेशराज पन्तले नेपालको परिचय नै यहाँका मठ मन्दिरमा नित्य चल्ने भजन भएकाले यसको संरक्षण गरिनुपर्नेमा जोड दिनुभयो । लिच्छविकालदेखि नै नेपालका मठमन्दिरमा नित्य भजन गर्ने गरिएको उहाँले सुनाउनुभयो । त्यसबेला मठ मन्दिरका साथै टोलटोलमा पनि भजन गाउने परम्परा थियो ।

कार्यक्रममा प्रा डा सुवर्णलाल बज्राचार्यले प्राचीनकालदेखि नै नेपालमा प्रचलनमा रहेको भजन विधाबारेमा लिखित इतिहास नभेटिएकाले यसका बारेमा थप अध्ययन अनुसन्धान हुनुपर्ने बताउनुभयो । मानिसको चित्त शुद्धिका लागि सङ्गीत, भजन र ध्यानको हात हुने विचार भगवान् बुद्धले बौद्धग्रन्थमा दिनुभएको उहाँले सुनाउनुभयो ।

गुठीको अध्यक्षसमेत रहनुभएका पूर्वमुख्यसचिव केशवराज राजभण्डारीले समुद्रको गहिराइमा मोती खोज्न गएजस्तै भजन मानिसको भित्री आँखा भएको बताउनुभयो । भजनलाई राज्यले पनि आफ्नो विषय बनाउनुपर्ने उहाँको भनाइ थियो । मुख्यसचिवबाट सेवानिवृत्त हुने बेलामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले अब के गर्नुहुन्छ भनी सोधेको प्रश्नमा आफूले भजन लेखन, गायनमार्फत आफैँलाई शुद्धीकरण गर्ने जानकारी उहाँले गराउनुभयो ।

जनकपुरको सीता मन्दिरमा २४सै घन्टा भजन चल्ने गरेको छ । धेरै मानिस जम्मा हुन नसक्ने बेलामा तबला र हार्मोनियममात्र बजाएर भए पनि एकैजनाले भजनलाई निरन्तरता दिने प्रचलन सीता मन्दिरमा रहेको छ ।

सबै मठमन्दिरमा पुरानै शैलीमा भजन गाउने परम्परालाई पुनःस्थापित गर्नसके राम्रो हुने पूर्वमुख्यसचिव राजभण्डारीको छ । कार्यक्रममा सम्मानित भजन गायिक एवं रचनाकार पन्तले मनमा शान्ति, आनन्द, मोक्ष र मुक्तिका लागि पनि भजनले नै सहयोग गर्ने बताउनुभयो । सो अवसरमा न्यूरो सर्जन डा प्रवेशराज राजभण्डारीले शल्यक्रिया गर्नुपर्ने बिरामीलाई भजन, गीत, सङ्गीतका माध्यमबाट शान्त बनाएर शल्यक्रियाशालामा लैजाने गरिएको अनुभव सुनाउनुभयो ।

कार्यक्रममा गुठीका कोषाध्यक्ष प्रकाशगम्भीरसिंह रायमाझीले स्थापनाको २४ वर्ष पूरा भएको गुठीले अर्को वर्ष रजत महोत्सव मनाउन लागेको जानकारी दिनुभयो । गुठीका सल्लाहकार प्रकाश प्रधानले भजन विधाको अध्ययन अनुसन्धानमा सरकारको पनि ध्यान जानुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया