समूहमार्फत आर्थिक रुपान्तरण गर्दै पूर्वकमलरी

  फागुन २८, २०७९

देउखुरी, २८ फागुन । घोराही उपमहानगरपालिका–८ बेलुवाकी तिला चौधरी मुक्त कमलरी विकास मञ्चमा आबद्ध भएर ज्ञान र सीप आर्जन गरिरहनुभएको छ । उहाँ सगरमाथा महिला समूहको अध्यक्ष समेत हुनुहुन्छ । उहाँ भन्नुहुन्छ “घुम्ती कोषमार्फत संस्थाले सहयोग गरेको छ । लगानी गरेर कृषि व्यवसाय गरेका छौँ । समूहमा बसेर ज्ञान, सीपका कुरा सिकेर व्यवहारमा उतारेका छौँ ।” उहाँले थोरै भए पनि बचत गर्नुपर्छ भन्ने कुरालाई व्यवहारमा उतार्दै भविष्यको योजनाका बारेमा छलफल गरेर काम अगाडि बढ्ने गरेको बताउनुभयो । कुखुरापालन, तरकारी खेती, बङ्गुरपालनलगायत पेसामा समूहका सदस्य आवद्ध भएका छन् ।

घोराही–२ का विपती चौधरी पूर्वकमलरी हुनुहुन्छ । कमलरी छँदा सुखको सास फेर्न नपाउनुभएकी उहाँ अहिले किराना पसल खोलेर बस्नुभएको छ । समूहमा आबद्ध भएर ज्ञान आर्जन गर्ने अनि आफूमा लागू गर्दै आउनुभएकी उहाँ कमलरी जीवनबाट मुक्ति पाएपछि जीवन फेरिएको बताउनुहुन्छ । उहाँले किराना पसलका साथै बाख्रापालन पनि गर्नुभएको छ ।

“अहिले मुक्त कमलरी विकास मञ्चले स्थापना गरेको समूहबाट घुम्ती कोषबाट ऋण लिएर बाख्रापालन गरेको छु”, उहाँँले भन्नुभयो, “घरमा सानो पसल पनि सञ्चालन गरेको छु । पहिले केही गर्न सक्दैनथेँ अहिले आत्मर्निभर भएको छु, मसँग आम्दानीको स्रोत भएपछि श्रीमान्सँग पैसा माग्नु पनि परेको छैन । पहिले–पहिले एक–दुई रुपैयाँ पनि कहाँ पाऊ भन्ने हुन्थ्यो, अहिले कमाउन सक्ने भएको छु ।”

घरमा आइपर्ने समस्या समाधान गर्न सजिलो भएको उहाँले बताउनुभयो ।

दाङको घोराही उपमहानगरपालिका–२, ४ र ८ मा आइएम स्वीडिस डेभलपमेन्ट पार्टनरको साझेदारीमा मुक्त कमलरी तथा सामाजिक वहिष्करणमा परेका महिलाको सशक्तीकरणमा परियोजनामार्फत गर्दै आएको कामले मुक्त कमलरी, विपन्न महिलाको जीवनमा परिवर्तन आएको छ । तीन वडामा १३ महिला समूह गठन गरिएको छ । यसमा करिब चार सय बढी महिलाको आबद्धता छ । यतिमात्रै होइन, बालबालिकामा सचेतना बढाउन र भोलिको सुन्दर भविष्य निर्माणका लागि तीनवटै वडामा वडास्तरीय युवा क्लब पनि गठन छ । जसबाट बालविवाह अन्त्य, लैङ्गिक हिंसा निवारणका बारेमा सचेतना फैलाउने काम हुँदै आएको मञ्चका केन्द्रीय अध्यक्ष हिरामोती चौधरी बताउनुहुन्छ ।

संस्थागतरूपमा हेर्ने हो भने विगतमा सरकारसँग भएको १० बुँदे सम्झौता कार्यान्वयन हुन नसक्दा कमलरी मुक्तिपछिको पुनःस्थापनामा समस्या देखिन्छ । सरकार र मुक्त कमलरीबीच विसं २०७० जेठ २४ गते १० बुँदे सहमति भएको थियो । सम्झौता कार्यान्वयनका लागि सरकारसमक्ष निरन्तररूपमा ध्यानाकर्षण गराउने काम गर्दै आएको उहाँ बताउनुहुन्छ ।

मञ्च कमलरी जीवनबाट मुक्ति पाएको, गरिब, निुमखाको उत्थानका लागि पैरवी गर्न स्थापित संस्थाले खेल्दै आएको भूमिकाका कारण आज धेरै दिदीबहिनीले आफूलाई जीवन बदल्न र सफलताको बाटोमा अग्रसर भएको र समुदायस्तरमा गरिएका कार्यक्रमले सार्थकता पाउँदै गएको उहाँको तर्क छ । कमलरीको जीवन बदल्न तथा सामाजिक रुपान्तरणमा मुक्त कमलरी विकास मञ्चले निकै ठूलो भूमिका खेल्ने काम गरेको घोराही–२ का वडाध्यक्ष चित्रबहादुर चौधरी बताउनुहुन्छ ।

मञ्चले थालेका कामले स्थानीय सरकारलाई पनि सहयोग पुगेको घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरी बताउनुहुन्छ । मुक्त गर्ने काम भइसकेपछि अब ती कमलरीको व्यवस्थापनका लागि सरकारले गरिरहेको पहलमा स्थानीय सरकारले विशेष भूमिका निर्वाह गरिराखेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “स्थानीय सरकारले मुक्त कमलरीका बारेमा तालिम नियमितरूपमा गर्दै आएका छौँ । पढिरहेका मुक्त कमलरीको छात्राबासमा बस्न खानको समस्यालाई ध्यानमा राखेर पालिकाभरका त्यस्ता छात्राको व्यवस्थापन गर्ने काम गरेका छौँ ।”

मञ्चले संस्थागत विकासलाई पनि अघि बढाएको छ । मुक्त कमलरीलाई तालिम दिने, उनीहरूलाई सीप प्रदान गर्दै सक्षम बनाउने, पेसा रोजगारमा लगाउने काममा लागिरहँदा घोराही उपमहानगरपालिकाको तर्फबाट पनि नियमित सहयोग र सहकार्य हुँदै आएको छ । आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै अझ प्रभावकारी बनाउने उपमहानगरपालिकाले जनाएको छ ।

समूह र युवा क्लबबाट सरोकार निकायबाट पाउनुपर्ने सेवा सुविधाका बारेमा समन्वय हुने गरेको छ । जस्तो वडा कार्यालय, कृषि कार्यालय, स्थानीय तहहरूबाट पाउनुपर्ने सेवा सुविधका बारेमा पहुँच बढाउने काम हुने गरेको छ । युवाको पनि उनीहरुको सहभागिता बढाउनेदेखि सचेतनामूलक कार्यक्रम सञ्चालन हुने गरेको छ ।

तपाईको प्रतिक्रिया