प्राधिकरणले रोक्यो श्री एयरलाइन्सको उडान

  फागुन २६, २०७९

नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले श्री एयरलाइन्सको जहाजको इन्जिन सुरक्षा जाँचपछि मात्रै उडान गर्न निर्देशन दिएको छ । क्यानले उक्त एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको हो ।

प्राविधिकले जाँचपछि मात्रै उडान गर्न दिने निर्णय गरिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । उहाँले बिगतमा श्री एयरलाइन्सका प्राविधिकले सुरक्षा जाँच गर्दा प्राविधिक त्रुटि पाइएकाले अब क्यानको जाँचपछि मात्रै जहाज उडान गर्न दिने निर्णय भएको बताउनुभयो ।

“क्यानका प्राविधिकले जहाजको इन्जिन जाँच गरेर ठिक छ भने मात्र उडान भर्न पाउँछन्, बिगतमा श्रीकै प्राविधिकले जाँच गरेपछि उडान भर्ने गरेकाले समस्या देखियो । बिहीबारको घटनापछि जहाज निलम्बनमा छ”, प्रवक्ता निरौलाले भन्नुभयो । प्राधिकरणको यो निर्णयपछि श्री एयरलाइन्सका जहाजले कुनै पनि उडान गर्न पाउने छैनन् ।

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरका अनुसार क्यानले ढिलो निर्णय दिएकाले यात्रुलाई समयमै खबर गर्न नपाउँदा मर्कामा परेका बताउनुभयो । आजका लागि १४ उडान निर्धारण गरिएकामा हालसम्म तीन उडान रद्द भइसकेका छन् । प्राविधिक जाँचपछि दिउँसोसम्म बाँकी उडान भर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । व्यवस्थापक मानन्धरले भन्नुभयो, “क्यानको निर्णयबारे हामीलाई आज बिहान साढे सात बजेमात्र जानकारी भयोे, बिहीबार साँझसम्म खबर पाएको भए यात्रु व्यवस्थापनमा सहज हुने थियो ।”

तपाईको प्रतिक्रिया