भक्तपुरमा श्रीकृष्ण प्रणामी धर्म जागनी अन्तर्राष्ट्रिय महोत्सव

  फागुन २५, २०७९

भक्तपुर । भक्तपुरमा अन्तर्राष्ट्रिय श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव २०७९ सुरु भएको छ ।

सूर्यविनायक नगरपालिका(६, कटुञ्जेस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा सुरु भएको महोत्सवमा आजदेखि दैनिक १० हजार बढी भक्तजनको उपस्थिति रहने मूल आयोजक समितिका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो । उहाँले आध्यात्मिक क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटन महोत्सवका रुपमा सुरु गरिएको बताउनुभयो ।

महोत्सवको पहिलो दिन कलश यात्राका साथै गजुर अनावरण गरिएको छ । महोत्सव अवधिभर मन्दिरमा दैनिक १०८ ब्रह्ममुनी ९बटुक०ले श्री एक सय आठ तारतमसागर पाठपारायण गरिएको छ । महोत्सवमा दैनिक विभिन्न गुरु महाराजबाट प्रवचन हुनेछ ।

महोत्सवमा दैनिक सेवा पूजा आरती, योग ध्यान, चितवनी, पाठपारायण, ध्यान जप, धार्मिक प्रवचन, श्रीकृष्णामृत कथा, सन्ध्या आरती, प्रवचन र सांस्कृतिक कार्यक्रम हुने उहाँले जानकारी दिनुभयो ।

महोत्सवमा विशेष कार्यक्रमअन्तर्गत दैनिक तारतम मन्त्र प्रदान तथा आत्मा जागनी कार्यक्रम, सम्मान कार्यक्रम, रक्तदान, निःशुल्क स्वास्थ्य परीक्षण र फागुन ३० गते सामूहिक उपनयन कार्यक्रम हुने मूल समारोह समितिका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

महोत्सवमा श्रीकृष्ण प्रणामी धर्माचार्य अनन्त श्री विभूषित जगद्गुरु आचार्य श्री कृष्णमणिजी महाराजश्रीको प्रवचन, श्री मङ्गलधाम कालिम्पोङका गादिपति श्री एक सय आठ गुरुजी मोहन प्रियाचार्यजी महाराजको प्रवचन छ ।

श्रीनवतनधाम गादिपति १०८ बाबा अमृतराजजी महाराजद्वारा श्रीमत्तारतम सागर वाणी चर्चा एवम् श्रीकृष्ण रसामृत, श्रीभद्रावतिपुरीधाम भरोडा भारतका गादिपति श्री १०८ टहलकिशोरजी महाराजजी, श्रीनवतमधामका महन्त श्री १०८ पुरुषोत्तम महाराजजीबाट प्रवचन हुनेछ ।

महोत्सव आयोजक समितिका सचिव धर्मराज कार्कीले श्री १०८ तारतमसागर पाठ पारायण सप्ताह ज्ञान महायज्ञसहित ‘श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव–२०७९ मा देश विदेशबाटसमेत सहभागी रहेको जानकारी दिनुभयो । उहाँले महोत्सवमा करिब रु ५० लाख खर्च हुने र करिब रु ७० लाख सङ्कलन हुने अनुमान गरिएको छ ।

फागुन ३० गतेसम्म चल्ने महोत्सवमा नेपालका विभिन्न जिल्लालगायत अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, भारतलगायतका मुलुकबाट समेत प्रतिनिधित्व रहनेछ ।

यसअघि महोत्सव क्षेत्रबाट सुरु भएको एक हजार कलश यात्रा विभिन्न क्षेत्रको परिक्रमा गर्दै मन्दिरमै आएर समापन भएको थियो । कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले महोत्सव एवं महायज्ञको उद्घाटन गर्दै हिन्दू धर्म र आध्यात्मिक चिन्तनको जगेर्ना गर्नुपर्ने बताउनुभयो । उहाँले हिंसाले कसैको भलो नहुने भन्दै यस्ता महायज्ञले अहिंसाको बाटोमा लाग्न सबैलाई प्रोत्साहन गर्ने बताउनुभयो ।

मन्दिरको विगतका गतिविधि र पारायणको चर्चा गरी आयोजक समितिले प्रकाशन गरेको स्मारिकाको सभामुख घिमिरेले विमोचन गर्नुभयो । श्रीमन्नीजानन्द ब्रह्मसभा भवन तथा श्रीकृष्ण प्रणामी मन्दिरको कलश अनावरणसमेत गरिएको छ ।

विसं २०५७ मा श्रीकृष्ण प्रणामी मन्दिर निर्माण भई आध्यात्मिक कार्यक्रम सञ्चालन हुँदै अनाथ बालबालिका तथा वृद्धवृद्धाको संरक्षण पठनपाठन एवं भरणपोषण हुँदै आइरहेको छ । नेपालमा छाता संस्थाका रूपमा रहेको श्रीकृष्ण प्रणामी सेवा समितिका मुलुकभर दुई सय ५१ शाखा आध्यात्मिक तथा सामाजिक क्षेत्रमा कार्यरत छन् ।

तपाईको प्रतिक्रिया