तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले आफ्नो नाममा रहेको जग्गा खोजी गरेको छ । केही समयअघि सूचना प्रकाशन गरेर आफ्नो नाममा भएको जग्गामा बनेका घर हटाउने जानकारी गराइएको र त्यसका लागि जग्गाको विस्तृत विवरण तयार गर्न अध्ययन गरिएको उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले बताउनुभयो ।
“हामीले जग्गा खोजी गर्न अध्ययन पूरा गरेका छौँ”,उहाँले भन्नुभयो, “अबको केही समयमा प्रतिवेदन आउछ, त्यो प्रतिवेदन आएपछि जग्गा व्यवस्थापनको काम हुन्छ ।” प्रवक्ता वलीले उपमहानगरको नामको जग्गामा बनेका घरलाई तीन किसिमले विभाजन गरेर काम अघि बढाउने बताउनुभयो ।
कोही जानाजान बसेको, केहीले २०५३ सालमा जग्गा बेचेको र केही जग्गा उपमहानगरपालिकाको भएको भन्ने थाहा नभएर बसेको पाइएको उहाँको भनाइ थियो । “तत्कालीन अवस्थामा नगरपालिकाले आफ्नो जग्गामा तारबार गरे पनि केही जग्गामा तारबार गर्न छुटेछ”,प्रवक्ता वलीले भन्नुभयो, “तारबार गरेकोभन्दा बाहिरको जग्गा ऐलानी होला भन्ने ठानेर घर बनाएका पनि पाइयो, यस विषयमा भने हामी सामाजिक न्यायका आधारमा काम गर्छौंँ ।”
जानाजान उपमहानगरपालिकाको जग्गामा बनेका घरलाई भने हटाउने नै तयारी रहेको भए पनि अञ्जानमा बसेकालाई भने सामाजिक न्यायका आधारमा प्रक्रिया अघि बढाउने उहाँको भनाइ थियो। विसं २०५३ मा तत्कालीन नगरपालिकालाई पाँच बिघा जग्गा बेच्न अनुमति दिइएकामा साँढे दुई बिघा जग्गा मात्रै बिक्री भएको र बाँकी साँढेदुई बिघा जग्गा पनि विक्री गरिने प्रवक्ता वलीले बताउनुभयो । उपमहानगरपालिकाको कित्ता नं ५९घ० ८१२ मा केही जग्गा अतिक्रमण परेको थियो ।
त्यो जग्गामा बनेका घर भने घरधनीले आफै हटाउन थालेका छन् । उपमहानगरपालिकाका पाँच वटा कित्तामा जग्गा छन् । तीमध्ये तुलसीपुर बसपार्कको उत्तरतर्फ आलुमण्डी आसपासको कित्ता नं ५९ख० ५४४ मा एक बिघा १० कठ्ठा १४ धुर जग्गा छ ।






