पराशर क्षेत्र संरक्षणमा कठिनाइ

  फागुन २३, २०७९

डुम्रे । धार्मिकस्थल महर्षि पराशर तपोभूमि एवं पराशर क्षेत्रको संरक्षणमा कठिनाइ भएको छ । दमौलीस्थित मादीसेतीको सङ्गमस्थल नजिकै यो क्षेत्र रहेको छ ।

धार्मिक क्षेत्रको संरक्षण गर्न कुनै पनि निकायले चासो नदिँदा पराशरको धार्मिक इतिहास भविष्यमा मेटिन सक्ने पराशर संरक्षण समितिका अध्यक्ष ताराप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ बनाइएका योजना पूरा गर्न कुनै पनि निकायले चासो नदिँदा समस्या परेको हो । “पराशर क्षेत्र मादी नदीको किनारमा रहेकाले बाढीपहिराको जोखिममा छ, यो ठाउँ सुरक्षित राख्न विभिन्न निकायसमक्ष सहयोगको अपिल गरिए पनि सहयोग नपाउँदा सकस भएको छ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो । पराशर क्षेत्रका भौतिक संरचनाको संरक्षण गर्न मादी नदी किनारतर्फ पर्खाल र तारबार गर्न आवश्यक छ । “तर, यसको संरक्षणमा कुनै निकायको सहयोग छैन”, उहाँले भन्नुभयो । पराशर क्षेत्रमा महर्षि वेदव्यास वेदविद्याश्रम ९गुरुकुल संस्कृत विद्यालय० सञ्चालन गरिएको छ ।

“गुरुकुलको माथिल्लो तल्लामा ध्यान कक्ष बनाएर यहाँबाट संस्कार, संस्कृति र नैतिक शिक्षा प्रदान गर्ने स्थल बनाउने उद्देश्य पूरा हुनसकेको छैन”, श्रेष्ठले भन्नुभयो । यहाँबाट दमौली तथा जिल्लाका बटुक बस्न तथा संस्कृत पठनपाठनका लागि नआउँदा यसको संरक्षण कठिन भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया