चन्द्रौटा,फागुन २२ : कपिलवस्तुका उखु किसान आन्दोलित भएको सात वर्ष बित्यो । यो अवधिमा किसानले पटकपटक ज्ञापनपत्र दिने र आन्दोलन गर्ने गरेका छन् ।
किसानले आश्वासन पाए पनि माग भने पूरा भएको दुःखेसो पोखेका छन् । उखु किसानले पाउनुपर्ने रकम नपाएको भन्दै सोमबार इलाका प्रशासन कार्यालय चन्द्रौटामार्फत सरकारलाई उनीहरूले ज्ञापनपत्र बुझाएका छन् ।
आव २०७१/०७२ मा प्रतिक्विन्टल नेपाल सरकारले दिने निर्णय गरेको रकम पनि अहिलेसम्म नदिएको भन्दै उक्त रकमको माग गरिएको छ ।
महालक्ष्मी सुगर मिलले किसानको रकमबाट खरिद गरेको ड्रिल मेसिन आफ्नो नाममा गरेकाले उक्त मेसिन किसान सङ्घको नाममा गरिदिने, विसं २०७३र०७४ मा सरकारले तोकेको मूल्यभन्दा महालक्ष्मी सुगर मिलले कम मूल्यमा उखु खरिद गरेकाले सो रकम उपलब्ध गराउनुपर्ने माग राखेका छन् ।
सरकारले उखुको मूल्य बर्सेनि तोक्ने तर स्थानीय व्यापारीले किसानलाई रकम नदिने गरेकाले यसमा सरकारले ध्यान दिनुपर्ने कपिलवस्तु किसान सङ्घका अध्यक्ष अनुपकुमार चौधरीले बताउनुभयो ।
किसानको मागमा सिँचाइको व्यवस्था, किसानले ट्र्याक्टर खरिदमा भन्सारमा सहुलियत, चिनी मिलको स्थापनालगायत १० बुँदे माग गरेका छन् ।
पटकपटकको आन्दोलनपछि विसं २०७७ पुस १३ गते नेपाल सरकारसँग अनुदान रकम दिने सम्झौता भए पनि कार्यान्वयन नहुँदा पुनःआन्दोलनको तयारी गरेको अध्यक्ष चौधरीले बताउनुभयो ।
ज्ञापनपत्र दिँदै अध्यक्ष चौधरीले फागुन मसान्तसम्म पनि कुनै सुनुवाइ नभए माइतीघर मण्डलामा धर्ना प्रदर्शन गर्ने जानकारी दिनुभयो । पटकपटक आन्दोलन गर्दासमेत सुनुवाइ नभएकाले किसान पीडित बन्ने अवस्थामा रहेको चौधरीको भनाइ छ ।






