डोटीको बडीकेदार गाउँपालिकाले ३२ वटा सामुदायिक आधारभूत विद्यालयलाई ब्रोड ब्याण्ड इन्टरनेट सेवाका लागि वाइफाइ डिभाइस वितरण गरेको छ ।
पालिकाले सङ्घीय सरकारसँग गरेको सम्झौताअनुसार दूरसञ्चार प्राधिकरणको सहयोगमा फोरजी सेवा चल्ने सिमकार्डसहितको वाइफाइ डिभाइस वितरण गरेको हो । शिक्षामा नयाँ प्रविधिको प्रयोग गरी शिक्षण कार्यलाई थप प्रभावकारी बनाउन सहजता होस् भन्ने उद्देश्यले वाइफाइ डिभाइस वितरण गरिएको बडीकेदार गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बिबेक देउवाले बताउनुभयो ।
उहाँले विद्यालयमा इन्टरनेट सेवा जडान हुँदा पढाइका साथै विद्यार्थीलाई नयाँ विषय वस्तुको बारेमा जानकारी गराउन थप सहज हुने विश्वास व्यक्त गर्नुभयो । बडीकेदार गाउँपािलकाअन्तर्गत ३२ वटा आधारभूत र नौ वटा माध्यमिक विद्यालय गरी ४१ वटा विद्यालय छन् ।
पालिकाअन्तर्गत रहेका माध्यमिक विद्यालयमा इन्टरनेट सेवा पहिले नै जडान भइसकेको छ । पालिकाले यसअघि २२ वटा विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी सिर्जना गरी शिक्षकको व्यवस्थापन गरिसकेको छ ।