चिस्यान घर बनेपछि केरा किसानलाई सहज

  फागुन २१, २०७९

दोधारा चाँदनी, फागुन २१ : कञ्चनपुरको भीमदत्त नगरपालिका–८ मा केरा पकाउने चेम्बर (चिसानगृह) सञ्चालनमा आएको छ । कृषि ज्ञान केन्द्र र गाउँमा रहेको खप्तड कृषि सहकारी संस्थाको सहयोगमा केरा चिस्यान घर सञ्चालनमा आएको हो ।

चिस्यान घर सञ्चालनमा आएपछि भीमदत्त–३, ६, ७, ८, ९ र १० का करिब डेढ सय केरा किसान लाभान्वित भएको खप्तड कृषि सहकारी संस्थाका अध्यक्ष पूर्ण साउदले जानकारी दिनुभयो ।

“कृषिबाट रु ४९ लाख र बाँकी सहकारीबाट लगानी गरेर चिस्यान घर निर्माण गरेका छौँ”, साउदले भन्नुभयो, “चिस्यान घर नहुँदा यहाँका केरा किसानलाई समस्या हुने गरेको थियो ।” उहाँले उक्त चिस्यान घरमा दैनिक तीन हजार पाँच सय दर्जन केरा राख्न सकिने बताउनुभयो ।

“अहिलेसम्म बिचौलियाहरूले एकलौटी रूपमा किसानको केरा उठाउँदै आएका छन्”, उहाँले भन्नुभयो, “गाउँमै सञ्चालनमा आएको चिस्यान घरले यहाँका किसानलाई राहत मिल्नेछ ।”

सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाश रावलले सुदूरपश्चिम केरा खेतीमा आत्मनिर्भर भइसकेको बताउनुभयो । “अहिले यो क्षेत्रमा केरा खेतीतर्फ किसानको आकर्षण बढेको छ”, उहाँले भन्नुभयो, “सुदूरपश्चिम प्रदेश सरकारले कृषिमा प्रतिफल आउने गरी लगानी गर्नुपर्छ ।”

यहाँका किसानले भने चिस्यान घर सञ्चालनमा आएपछि सहयोग पुग्ने बताएका छन् । “चिस्यान घर नहुँदा सस्तोमा केरा बिक्री गर्न बाध्य थियौँ”, कृषक मनोरथ जोशीले भन्नुभयो, “भारतीय केरा आयात हुँदा यहाँ उत्पादन भएको केरा खपत हुन समस्या हुने गरेको छ ।”

सुदूरपश्चिम प्रदेश सरकारले दुई वर्षअघि मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत पनि किसानलाई धेरै सहुलियत प्रदान गर्दै आएको छ ।

मुख्यमन्त्री नमूना कृषि कार्यक्रमले यहाँ थोपा सिँचाइ, ढुवानीका लागि सवारी साधन खरिद, केराका बिरुवा तथा सिँचाइ कार्यक्रममा सहयोग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया