जिल्लाको आँबुखैरेनी गाउँपालिका कार्यालयले कृषकका लागि हाटबजार सञ्चालनमा ल्याएको छ । स्थानीय तहमा उत्पादन भएका वस्तु सहजरूपमा बिक्री–वितरण गर्न दिने उद्देश्यले हाटबजार सञ्चालनमा ल्याइएको हो ।
उक्त हाटबजारको शुक्रबार राष्ट्रियसभा सदस्य सुरेश आलेमगर र गाउँपालिका अध्यक्ष शुक्र चुमानले संयुक्तरूपमा उद्घाटन गर्नुभयो । सो अवसरमा सांसद आलेले हाटबजार स्थापनासँगै स्थानीयस्तरमा उत्पादित वस्तुले सहजरूपमा बजार पाउन सक्ने बताउनुभयो ।
आँबुखैरेनी–३ मा १० वर्षका लागि जग्गा भाडामा लिएर ट्रष्ट निर्माण गरी हाटबजार बनाइएको गाउँपालिकाका अध्यक्ष चुमानले जानकारी दिनुभयो । गाउँपालिका कार्यालयको करिब रु ४० लाख लागतमा वार्षिक रु दुई लाख ५० हजार भाडा बुझाउने शर्तमा जग्गा लिएर हाटबजार निर्माण गरेको उहाँले बताउनुभयो ।
कृषि, पशु, बाँसजन्य, मह, घिउ, मकै, भटमास, तरकारीलगायतका स्थानीयस्तरमा उत्पादित वस्तु बिक्री–वितरणका लागि व्यवस्था मिलाइएको छ । छिमेकी जिल्ला गोरखामा शनिबार सञ्चालन गरेकाले हप्तामा एक दिन शुक्रबार हाटबजार सञ्चालन गर्ने तयारी गाउँपालिकाले गरेको छ ।






