महाकाव्यकार चालिसेको ‘मैले देखेको पोखरा’ लोकार्पण

  फागुन १९, २०७९

गण्डकी,फागुन १९ : महाकाव्यकार वसन्तप्रसाद चालिसेको ‘मैले देखेको पोखरा–२०७९’ पुस्तक लोकार्पण गरिएको छ ।

कस्केली अधिकृत समाजद्वारा पोखरामा आयोजित एक कार्यक्रममा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले पुस्तकको लोकार्पण गर्नुभयो ।

कार्यक्रममा मुख्य न्यायाधीश आचार्यले पोखरा महानगरपालिकामा लामो समय सेवा गरेका चालिसेले त्यहाँका भोगाइ तथा अनुभवलाई पुस्तकमा उतार्नुभएको बताउनुभयो ।

महानगरलाई व्यवस्थित एवं प्रभावकारी बनाउन चालिसेका भोगाइ तथा अनुभव भावी दिनका लागि प्रेरक बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कस्केली अधिकृत समाजका सल्लाहकार एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल गण्डकी प्रदेशका अध्यक्ष दुर्गाबहादर शाह ‘बाबा’ले महानगरका सेवाकालीन भोगाइ तथा अनुभवलाई समेटेर तयार पारिएको पुस्तक पोखराको सम्बन्धमा अध्ययन तथा अनुसन्धान गर्न चाहनेका लागि पनि महत्त्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले महानगरपालिकाको विगतदेखि वर्तमानसम्मका गतिविधिलाई नियाल्नका लागि पुस्तक महत्त्वपूर्ण बन्ने बताउँदै महानगरभित्रका कमीकमजोरी सुधार्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि पनि पुस्तक उपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

पुस्तकको समीक्षा गर्दै साहित्यकार असफल गौतमले विगतदेखि वर्तमानसम्मको पोखरा, यहाँ भएगरेका गतिविधि पुस्तकमा समेटिएको बताउनुभयो ।

पोखरा महानगरबारे बुझ्न चाहने र यहाँको अध्ययन अनुसन्धान गर्नेका लागि पनि यो पठनीय हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा समाजका सल्लाहकार कृष्णकान्त सिग्देल, उपाध्यक्ष लोकनाथ दवाडी, सचिव महेश पौडेल, सदस्य एवं पोखरा महानगरपालिका–३ का वडा सचिव चन्द्रवती वाग्ले, पुस्तकका लेखक वसन्तप्रसाद चालिसे, पोखरा–३ का वडाध्यक्ष प्रकाशमान उदास, पोखरा महानगरपालिकाका लेखा अधिकृत जयराम पौडेललगायतले पुस्तकका सम्बन्धमा चर्चा गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया