लुम्बिनी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम देउखुरीमा सम्पन्न

  फागुन १९, २०७९

लुम्बिनी, फागुन १९ : राष्ट्रपति निर्वाचन लक्षित गरेर आठ राजनीतिक दलको राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्रद्वारा आज लुम्बिनी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम प्रदेश राजधानी राप्ति उपत्यका देउखुरीमा सम्पन्न भएको छ ।

राष्ट्रपति निर्वाचनमा प्रदेशसभा सदस्य तथा सङ्घीय सांसदलाई अल्मल्याउन खोजिएको भन्दै यस्ता उल्झनमा नपर्न सचेत गराइएको छ । गोप्य मतदान भएकाले कसैको प्रलोभनमा नपर्न सांसदलाई सचेत गराइएको छ ।

नेपाली कांग्रेसका नेता योगेन्द्र चौधरीले संवैधानिक मर्यादाभित्र रहने व्यक्तिलाई राष्ट्रपति पदमा निर्वाचित गरिनुपर्ने बताउनुभयो । “संविधानभन्दा माथि कोही छैन । विगतका अभ्यासले त अर्कै सङ्केत ग¥यो”, उहाँले भन्नुभयो, “संविधान रक्षाका लागि हामी एक ठाउँमा उभिएका हौँ ।”

नेकपा ९माओवादी केन्द्र० का सचिव चक्रपाणि खनालले नेपाली कांगे्रसले सुझबुझपूर्ण रूपमा राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको बताउनुभयो ।

“हामी संविधानको रक्षाका लागि एक ठाउँमा छौँ”, उहाँले भन्नुभयो, “हामी बीचमा विश्वास चाहिन्छ । कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपतिमा सुझबुझपूर्ण रूपमा उम्मेदवार बनाएको छ ।”

प्रतिनिधिसभा विघटन, विधेयक रोकिनु जस्ता घटना अब नदोहोरिने प्रतिबद्धता व्यक्त गरिएको छ । लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लले संविधानको रक्षाको लागि सही व्यक्तिलाई राष्ट्रपतिमा निर्वाचित गरिनुपर्ने भएकाले आठ दलीय गठबन्धन निर्माण भएको बताउनुभयो ।

“रातारात राष्ट्रपतिलाई शक्ति दिने काम भयो । यो गलत हो”, उहाँले भन्नुभयो, “सार्वभौम संसद्भन्दा माथि कोही छैन । संसद्ले गरेका निर्णय रोकिनु दुर्भाग्य थियो । अब त्यसो हुने छैन ।”

आठ दलीय गठबन्धनभित्र विश्वासको वातावरण कायम गर्दै निर्वाचनमा इमान्दारी आवश्यकता पर्ने नेताहरूको भनाइ छ ।

अभिमुखीकरणलाई सम्बोधन गर्ने अन्य दलका नेताले गठबन्धनभित्र विश्वास कायम हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

अभिमुखीकरणमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) का सांसदहरूको सहभागिता थियो । लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय छ ।

तपाईको प्रतिक्रिया