कुनै समय वडा कार्यालय जनप्रतिनिधिविहीन थिए । जनप्रतिनिधिविहीन हुँदा कर्मचारीले वडा चलाउनुपर्ने अवस्था थियो तर अहिले वडावडामा निर्वाचित जनप्रतिनिधि आएपछि सेवाग्राहीमैत्री निर्णय गर्न थालिएको छ ।
त्यसकै एउटा उदाहरण हो, तुलसीपुर–११ । सेवाग्रही वडा कार्यालयमा आइपुग्दा धेरै प्रक्रिया पुगेको हुँदैन । कसैको निवेदन मिलेको हुँदैन, कसैको कागजात पुगेको हुँदैन । यही कारणले एक दिनमा हुने कामका लागि तीन÷चार दिन धाउनुपर्ने अवस्था थियो । यही समस्या समाधान गर्न वडाले नागरिक सहायता केन्द्र सञ्चालनमा ल्याएको हो ।
जहाँ सेवाग्राहीको निःशुल्क निवेदन लेखिनाका साथै आवश्यक कागजात पनि मिलाइन्छ । त्यस्तै निःशुल्क फोटोकपी गरिदिइन्छ । “सेवाग्राहीलाई धेरै झन्झट हुन थाल्यो, एक दिनमा हुने काम दुई–तीनदिनसम्म धाउनुपर्ने अवस्था अन्त्य गर्न नागरिक सहायता केन्द्रले भूमिका निर्वाह गरेको छ”, वडाध्यक्ष मानबहादुर रावतले भन्नुभयो, “त्यहाँबाट हामीले निःशुल्क निवेदन लेखिदिनेदेखि लिएर फोटोकपीसम्म गरिदिन्छौँ, अन्य कागजात पनि मिलाइदिन्छौँ ।”
वडा कार्यालय भनेको जनताको नजिकको सरकार भएको र धेरै काम हुने भएकाले सहज सेवा प्रदान गर्नु आफ्नो दायित्व रहेको वडाध्यक्ष रावतले बताउनुभयो । जतिसक्यो सेवालाई सहज, सरल तथा छिटोछरितो गर्नका लागि यस्तो काम गरिएको उहाँको भनाइ थियो ।






