लेखनाथ,फागुन १८ : देशका विभिन्न स्थानमा फरक–फरक लय र भाकामा गाइने भजन चुड्का एकै मञ्चमा गाइने भएको छ ।
विभिन्न प्रकारका लोपोन्मुख भजन चुड्काको संरक्षणका साथै युवा पुस्तालाई त्यस्ता भजन चुड्काका बारेमा जानकारी दिने उद्देश्यले देशैभरिका भजन चुड्का एकै मञ्चमा गाइने भएको हो ।
एकै मञ्चमा देशको पूर्वदेखि पश्चिमसम्मको भजन चुड्का गाइने कार्यक्रम नेपालमै पहिलोपटक भएको बताइएको छ ।
राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान नेपालले आज पोखरामा पत्रकार सम्मेलन गरी त्यस्तो जानकारी दिएको हो ।
पछिल्लो पुस्तामा लोकसंस्कृति हराउँदै गएका कारण उक्त संस्थाले यही फागुन २५ देखि चैत २ गतेसम्म पोखरामा भजन महोत्सव तथा राष्ट्रव्यापी लोकभजन प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
संस्थाका अध्यक्ष प्रजापति पराजुलीले प्रतिष्ठानको केन्द्रीय कार्यालय भवन निर्माण सहयोगार्थ पोखरामा ज्ञान महायज्ञ, भजन महोत्सव तथा राष्ट्रव्यापी लोकभजन प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो ।
नेपालका लोक विश्वास, लोक परम्परा र लोक संस्कृतिमा अब नयाँ जागरण ल्याउन आवश्यक भएको कुरा उहाँले औँल्याउनुभयो ।
कार्यक्रमको मुख्य उद्देश्य समाजमा अध्यात्मको महत्त्व स्थापित गराउनु, सनातन धर्मका व्यावहारिक एवं वैज्ञानिक महत्त्वबारे प्रकाश पार्नु, लोपोन्मुख बालन, हनुमान लीला, भजन चुड्कालगायत धार्मिक गीतहरूको संरक्षण गर्नु, नयाँ पुस्तालाई लोक संस्कृतिप्रति आकर्षित गर्नु, देशका विभिन्न जिल्लामा फरक–फरक शैलीमा गाइने भजन चुड्का लय, भाका, वेषभूषा लोकबाजाको प्रदर्शन गराउनुका साथै सङ्ग्रह गरिने रहेको जानकारी अध्यक्ष पराजुलीले दिनुभयो ।
भजन चुड्का प्रतियोगितामा सहभागी हुन हाल ४६ जिल्लाबाट सम्पर्क भइसकेको र अन्य जिल्लाबाट पनि हुने विश्वास आयोजक संस्थाले लिएको छ ।
भजन चुड्का प्रतियोगितामा एउटा समूहबाट १०–२५ जनासम्म सहभागी हुनसक्ने जानकारी सो अवसरमा दिइएको थियो ।
भजन चुड्का महोत्सवसँगै हुने ज्ञान महायज्ञमा विशिष्ट वैज्ञानिक तथा आध्यात्मिक व्याख्याता चैतन्यकृष्ण प्रभुले भागवत् वाचन गर्ने कार्यक्रम रहेको जानकारी अध्यक्ष पराजुलीले दिनुभयो ।
महोत्सव सम्पन्न गर्नका लागि अनुमानित खर्च रु ३५ लाख र आम्दानी रु एक करोड हुने विश्वास गरिएको छ ।
भजन चुड्का प्रतियोगिताअन्तर्गत प्रथम हुने समूहलाई रु ५१ हजार, द्वितीयलाई रु ३१ हजार, तृतीय हुनेलाई रु २१ हजार, सान्त्वना हुने समूहलाई रु ११ हजार पुरस्कारको व्यवस्था गरिएको छ भने उत्कृष्ट नृत्यलाई रु सात हजार पाँच सय, उत्कृष्ट झाँकीलाई रु सात हजार पाँच सय, उत्कृष्ट वेषभूषालाई रु सात हजार पाँच सय र अनुशासनलाई समूहलाई रु सात हजार पाँच सयको पुरस्कार प्रदान गरिने जानकारी सो अवसरमा दिइएको छ ।
भजन चुड्का प्रतियोगितामा एक सयभन्दा बढी समूह सहभागी हुने विश्वास आयोजक संस्थाले गरेको छ । एकै जिल्लाका तीन–चार समूह पनि प्रतियोगितामा सहभागी हुनसक्ने छन् । प्रतियोगितमामा सहभागी हुन प्रतिसमूहले रु एक हजार पाँच सय शुल्क तिर्नुपर्ने हुन्छ ।






