धुलिखेल, फागुन १७ : काभ्रेपलाञ्चोकस्थित ढुङ्खर्क–च्याम्राबेंसी सुरुङमार्गको प्राविधिक अध्ययनको जिम्मा बेथानचोक गाउँपालिकाले काठमाडौँ विश्वविद्यालयलाई दिएको छ ।
आज काठमाडौँ विश्वविद्यालयको प्राङ्गणमा एक कार्यक्रममा दुवै निकायबीच तीनबुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सुरुङमार्गले काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–१ र ४ वडा जोड्नेछ ।
सम्झौताअनुसार काठमाडौँ विश्वविद्यालयले सुरुङमार्गस्थलको वातावरणीय प्रभाव, भौगर्भिक अवस्था, टनेलको सम्भावित डिजाइन र अनुमानित लगानीसमेतको अध्ययन गरी गाउँपालिकालाई प्रतिवेदन पेस गर्नेछ ।
सम्झौतापत्रमा विश्वविद्यालयको तर्फबाट उपकुलपति भोला थापा र गाउँपालिकाको तर्फबाट अध्यक्ष भगवान अधिकारीले हस्ताक्षर गर्नुभएको थियो । समझदारीपत्रमा प्रारम्भिक प्राविधिक अध्ययन गर्ने विषय उल्लेख गरिएको छ ।
सुरुङको लम्बाइ एक देखि एक दशमलव पाँच किलोमिटरसम्म हुने अनुमान गरिएको गाउँपालिकाका अध्यक्ष अधिकारीले बताउनुभयो ।
सुरुङमार्ग निर्माणका लागि गाउँपालिकाले रु १० लाख विनियोजन गरेको समेत अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । बेथानचोक–४ को सेती भिरमा समय समयम गइरहने सुक्खा पहिरोबाट हुने सडक बन्दको दिगो समाधानका लागि सुरुङमार्ग निर्माण गर्न लागिएको हो ।
सो अवसरमा काठमाडौँ विश्वविद्यालयका उपकुलपति थापाले समृद्ध मुलुक निर्माणकै लागि विश्वविद्यालय स्थानीय निकायसँग सहकार्य गरी काम गर्न तयार रहेको जनाउनुभयो ।
सुरुङमार्ग विश्वविद्यालयका लागि जीवन्त प्रयोगशाला हुने बताउँदै तीव्र गतिमा प्रभावकारी अध्ययन गर्न इञ्जिनीयरलाई निर्देशन दिनुभयो ।
कामर्यक्रममा विश्वविद्यालयका रजिस्टार प्रा डा अच्युतकुमार वाग्लेले दक्ष जनशक्ति उत्पादन गरी स्थानीयस्तरमा समेत अध्ययन गर्ने गरी काम प्रारम्भ भएको बताउनुभयो । कार्यक्रममा विश्वविद्यालयका डीन, सहायक डीन, गाउँपालिकाका प्र्रमुख उपप्रमुखलगायतको उपस्थिति थियो ।






