चारलेन सडक निर्माणमा ढिलासुस्ती

  फागुन १७, २०७९

चारलेन सडक निर्माणमा ढिलासुस्ती हुँदा बाँके र बर्दियाका जनताले सास्ती व्यहोर्नुपरेको छ । सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गत बाँकेको खजुरा बजार र बर्दियाको सदरमुकाम गुलरियामा निर्माणाधीन चारलेन सडक लामो समयदेखि अलपत्र छन् ।

विसं २०७४ चैत २९ मा सम्झौता गरी बाँकेको खजुरामा एक हजार आठ सय मिटर र बर्दियाको गुलरियामा दुई हजार दुई सय मिटर लम्बाइको चारलेन सडक निर्माण थालिएको थियो । निर्माण कम्पनीले विभिन्न बहाना देखाउँदै दुईपटक म्याद थपे पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।

गजुरमुखी निर्माण सेवाले २०७७ असोजमा सम्पन्न गर्ने गरी रु २२ करोडको लागतमा निर्माण थालिएको सडक हालसम्म पूरा नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ । विसं २०७८ चैत ३० सम्म पहिलो पटक म्याद थप गरी सो अवधिमा पनि निर्माण गर्न नसकेपछि २०७९ पुस २९ मा सम्पन्न गर्नेगरी दोस्रो पटक म्याद थप गरेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी जनकबहादुर धामीले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्माण कम्पनीको लापरबाहीका कारण सडक निर्माणमा ढिलाइ भएको हो । विसं २०७४ मा काम सुरु भएयता निर्माण कम्पनीले करिब रु १८ करोड भुक्तानी लिइसकेको छ । निर्माण कम्पनीले समयमा काम नसकिनुका पछाडि कोरोना महामारीको कारण देखाउँदै पटकपटक म्याद थपाउँदै आएको छ ।

चारलेन सडक निर्माण कार्यमा ढिलाइ हुँदा स्थानीयवासीले सास्ती पाएका छन् । सडक निर्माण अधुरो हुँदा सवारी साधन सञ्चालनमा कठिनाइ हुनाका साथै धुलो उडेर आसपासका पसल तथा घरमा पुग्ने गरेको छ । धुलो र हिलोका कारण व्यापार व्यवसाय प्रभावित हुन पुगेको खजुरा बजारका व्यवसायी रमेश थापाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया