नवलपरासी९बर्दघाट सुस्तापूर्व०मा सात महिनामा ४७ सवारी दुर्घटनामा हुँदा २२ जनाको मृत्यु भएको छ । यस अवधिमा एक सय ४८ घाइते भएका छन् । तीमध्ये ६१ गम्भीर र ८७ सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरको तथ्याङकले देखाएको छ ।
प्रहरी कार्यालयको तथ्याङ्क अनुसार सात महिनाको अवधिमा मङ्सिर महिनामा सवारी दुर्घटना धेरै भएको छ । यस्तै दुर्घटनाबाट सबैभन्दा धेरै पनि सोही महिनामा आठ जनाले ज्यान गुमाएका छन् । क्रमशः साउनमा तीन जना , भदौ, असोज र माघमा एक÷एकजना, कात्तिकमा छ जना र पुसमा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताउनुभयो ।
जिल्लामा आर्थिक वर्ष २०७७÷७८ मा एक सय १३ वटा सवारी दुर्घटनाबाट ४६ जनाले ज्यान गुमाएका थिए । भने दुई सय २० जना घाइते भएका थिए । २०७८÷७९ मा ९५ वटा सवारी दुर्घटनामा परी ४१ जनाको मृत्यु र दुई सय ४८ जना घाइते भएको सूचना अधिकारी पाठकले बताउनुभयो ।
“जिल्लामा साढे दुई वर्षमा दुई सय ६५ वटा सवारी दुर्घटना भएका छन् । यो अवधिमा एक सय नौ जनाले सवारी दुर्घटनामा परी ज्यान गएका छन्, छ सय १६ जना घाइते भएका छन्”उहाँले भन्नुभयो । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० गण्डकी प्रदेशकै सबै भन्दा धेरै सवारी दुर्घटना हुने जिल्ला हो । यहाँ सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो ।
“जिल्ला प्रहरी कार्यालयले रोड सेफ्टी टिप्स, रोड सेफ्टी कर्नर अभियान, नमस्ते अभियान, चालकसँग एक मिनेट कार्यक्रम, विद्यालय सचेतना कार्यक्रम, यात्रु सहायता कक्ष स्थापना र प्रशिक्षण, अन्तक्र्रिया कार्यक्रम, कृतिम सडक दुर्घटना उद्धार तथा व्यवस्थापन सिमुलेसन, हुस्सु लाग्दा र रातको समयमा टल्किने स्टिकर टाँस्ने अभियान, प्रेसर हर्न हटाउने अभियान, ट्राफिक चेकिङलगायतका अभियान सञ्चालन गरिरहेका छौँ”उहाँले भन्नुभयो ।






