राष्ट्रिय ललितकला प्रदर्शनी आगामी वर्ष जेठमा

  फागुन १५, २०७९

काठमाडौँ, फागुन १५ : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)ले यसपटकको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ जेठ १५ गतेदेखि सुरु गर्ने भएको छ ।

हरेक वर्ष वैशाख २ गतेदेखि सुरु हुने उक्त प्रदर्शनी यस वर्षदेखि जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर सुरुआत गर्न लागिएको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसरी जेठ १५ देखि प्रदर्शनी सुरु गर्ने यो पहिलो अभ्यास हुनेछ । उक्त प्रदर्शनीको तयारी तीव्र रुपमा अघि बढेको छ ।

“गणतन्त्र दिवस नेपालीको ठूलो उत्सव हो, त्यसैले हामीले प्रदर्शनीलाई त्यही उत्सवको अवसर पारेर सुरुआत गर्न लागेका हौँ, यो प्रतिष्ठानका लागि पहिलो अभ्यास हो”, काफ्लले भन्नुभयो । ललितकला क्षेत्रको राष्ट्रिय उत्सव मानिने उक्त प्रदर्शनी एक महिनासम्म चल्नेछ ।

प्रदर्शनीका लागि कला कृति बुझाउने म्यादसमेत थप गरिएको छ । उहाँका अनु्सार अब चैत १५ गतेसम्मका लागि कलाकृति बुझाउने समय सीमा तोकिएको छ ।

चैत १५ गतेसम्म ल्याइने कलाकृति प्रतियोगितामा समावेश गरिनेछन् । झण्डै दुई महिना ललितकला प्रज्ञा प्रतिष्ठान नेतृत्वविहीन भएकाले यसरी कलाकृति बुझाउने म्याद थप गरिएको हो । यसअघि दुई पटक कलाकृति बुझाउने समय थप भइसकेको छ ।

यसपटकको प्रदर्शनीमा झण्डै एक हजार कलाकृति समावेश गर्ने लक्ष्य राखिएको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताउनुभयो । उहाँका अनुसार प्रदर्शनीमा नेपाली ललितकलाको सबै क्षेत्रका कलाकृति हेर्न पाइनेछ ।

यसले ललितकला विकास तथा प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । नयाँ कलाकारलाई सिक्ने र सिकाउने अवसर पनि प्रदान गर्ने भएकाले प्रदर्शनी महत्वपूर्ण हुनेछ ।

अन्य प्रदर्शनी एकल वा सामूहिक रुपमा सीमित कलाकारको सहभागितामा वा निजी ग्यालरीमा हुनेगर्छ । यस्ता प्रदर्शनीले मुलुकको मौलिक पहिचानलाई विश्वसामु पु¥याउन सहभोग पुग्ने कुलपति हार्तम्छालीले बताउनुभयो । प्रतियोगितात्मक कार्यक्रमले कलाकारलाई कलाकृतिमा निखारता ल्याउन हौसला प्राप्त हुने उहाँले बताउनुभयो ।

विधागत प्रदर्शनी र प्रतियोगिता

प्रदर्शनीमा परम्परागत चित्रकला (पौभा, थाङ्का) आधुनिक चित्रकला ९चित्र तथा मुद्रणकला०, परम्परागत मूर्तिकला, लोककला (विभिन्न जातजातिका संस्कार, संस्कृति तथा भूगोलमा आधारित स्थानीय कला), हस्तकला-शिल्पकला, वास्तुकला तथा अन्य सिर्जनात्मककलालगायत विधाका कलाकृति सहभागी गर्न पाइने छ ।

अन्य सिर्जनात्मक कलाअन्तर्गत प्रतिस्थापन तथा भावभङ्गीमा कला, ग्राफिक्स कम्युनिकेशन, सिर्जनात्मक छविकला तथा भिडियोकला पनि समावेश गराइनेछ ।

प्रदर्शनीमा सहभागि हुन कलाकारले एक वर्षभित्रै सिर्जना गरेका, मौलिक तथा अन्य प्रदर्शनीमा सहभागी नगराइएका कलाकृति उपलब्ध गराउनुपर्ने छ ।

हुबहु नक्कल गरिएको कृति समावेश गराउन नपाइने तथा १८ वर्ष उमेर पुगेका कलाकार मात्रै सहभागी हुने पाउने नियम छ ।

यसरी प्रदर्शनीमा समावेश कलाकृतिमध्ये उत्कृष्ट कृतिलाई विधागत र प्रादेशिक रुपमा पुरस्कार प्रदान गरिने नाफाले जनाएको छ । एक कलाकारले बढीमा तीन पटकसम्म ललितकला पुरस्कार प्राप्त गर्ने छन् भने तीन पटक एउटै विधामा पुरस्कार पाएमा त्यस्तो कलाकारलाई स्वर्णपदक प्रदान गरिने छ ।

विधागत रुपमा उत्कृष्ट छनोट भएका कलाकारलाई रु ६० हजारका दरले पुरस्कार प्रदान गरिनेछ । ललितकला विशेष पुरस्कार प्राप्त गर्ने कलाकारलाई रु २५ हजार प्रदान गरिनेछ । हरेक प्रदेशबाट एक-एकजनालाई प्रादेशिक पुरस्कार दिइने र उक्त पुरस्कारको राशि रु २५ हजार रहने नाफाले जनाएको छ ।

गत वर्ष गरिएको प्रदर्शनीमा तीन सय ६५ कलाकारका चार सय २६ कलाकृति दर्ता भएकामा तीन सय ४१ कलाकारका तीन सय ८९ कलाकृति छनौट भएका थिए ।

तपाईको प्रतिक्रिया