बागलुङमा बालविवाह अझै चुनौतीकैरुपमा रहेको छ । यहाँका कतिपय पालिकामा बालविवाह कम रहे पनि कतिपयमा चुनौती कायमै छ ।
बालमैत्री नगर घोषणाको अन्तिम तयारी भइरहेको गलकोट नगरपालिकामा बालविवाह चुनौतीका रुपमा छ । बालमैत्री नगरपालिका घोषणाका लागि तयारी गरिरहेको बागलुङ नगरपालिकाले पनि बालविवाहको चुनौती पार लाउन सकेको छैन ।
गलकोटले अधिकांश सूचक पूरा भइसक्दा पनि बालविवाह भने रोक्न नसकिएको जनाएको हो । केही स्थानमा बालविवाह भइरहेकाले घोषणामा समस्या भएको पालिकाले जनाएको छ । बालमैत्री नगर बनाउन ५१ सूचक पूरा गर्नुपर्छ । गलकोटमा झण्डै ५० सूचक पूरा भइसकेका छन् । छिटफुटरुपमा बाललविवाह भएकाले घोषणामा समस्या आएको नगर शिक्षा अधिकारी रुद्र नारायण सापकोटाले बताउनुभयो । तीन वर्षअघिदेखि सुरु भएको यो अभियानमा बालविवाह बाधक बनेको हो ।
“छिटफुट बालविवाह देखिएको छ, त्यो समस्या पनि समाधान गरेर छिटै बालमैत्री नगर घोषणा गर्छौं”, नगरप्रमुख भरत शर्मा गैरेले भन्नुभयो, “बीस वर्षको उमेर हदले केही समस्या बनाएको छ ।” पारिवारिकरुपमा सहमत भएका वा केही भागी विवाहमा २० वर्ष उमेर नपुग्दै भएको देखिँदा यो अभियानमा असर परेको उहाँले बताउनुभयो ।
बालमैत्री नगर घोषणाका लागि बालमैत्री स्थानीय शासनले तोकेका ५१ मध्ये १२ शिक्षा र १३ वटा सूचक स्वास्थ्य क्षेत्रबाट पूरा गर्नुपर्ने व्यवस्था छ । समुदाय तहले पूरा गर्नुपर्ने सूचकमध्ये बालविवाह अन्त्य गर्नुपर्ने भन्ने उल्लेख छ । विभिन्न समुदायको समस्याले नगरको अभियानमा असर परेको बताइएको छ ।






