नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले संस्थापक कुलपति एवं राष्ट्रगानका सङ्गीतकारसमेत रहनुभएका वरिष्ठ सङ्गीतज्ञ अम्बर गुरुङको ८५औँ जन्मजयन्ती मनाएको छ ।
संस्थापक कुलपति गुरुङका बारेमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेल, उपकुलपति शम्भू राई, प्राज्ञ डक्टर किराँत लगायतले नेपाली कला क्षेत्रमा पु¥याउनुभएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । कुलपति राईले गीत, सङ्गीत र गायनका त्रिवेणी अम्बर गुरुङ नेपाली आधुनिक सङ्गीतका एक महारथी हुनुभएको बताउनुभयो ।
समकालीन नेपाली सङ्गीतमा स्थापित प्रायःसङ्गीतकर्मी गुरुङबाटै दीक्षित रहेका र आफूले पनि गीतकारको हैसियतमा पचासको दशकदेखि गुरुङको सान्निध्यता पाएको स्मरण गर्नुभयो । कुलपति राईले आगामी दिनमा नेपाल प्रज्ञा–प्रतिष्ठानलेसमेत उहाँको जन्मजयन्ती भव्यरुपमा मनाउने योजना रहेको बताउनुभयो ।
सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति पोखरेलले अहिलेका नयाँपुस्ताले पनि उत्तिकै रुचाएका अम्बर गुरुङ कहिल्यै नअस्ताउने तारा भएको बताउनुभयो । विगतका वर्षदेखि मनाउँदै आएको अम्बर गुरुङ जन्मजयन्तीको परम्परालाई प्रज्ञा–प्रतिष्ठानले आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता उहाँले जनाउनुभयो ।
उपकुलपति राईले गुरुङ पूर्वीय र पाश्चात्य सङ्गीतको एक सिद्धहस्त साधक भएको बताउँदै उहाँले नै नेपाली सङ्गीतमा पहिलो पटक पाश्चात्य सङ्गीतको ‘क्वायर’को प्रयोग गरेको जानकारी गराउनुभयो ।






