अवैध आयातले व्यवसाय धराशायी भएको गुनासो

  फागुन १४, २०७९

भारतबाट हुने अवैध आयातका कारण नेपालगञ्जका उद्योग व्यवसाय धराशायी हुँदै गएको व्यवसायीले गुनासो गरेका छन् ।

सीमावर्ती भारतीय नाकाबाट हुने तस्करी र अवैध आयातका कारण नेपालगञ्ज क्षेत्रको व्यापार व्यवसाय धराशायी बन्न पुगेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताउनुभयो ।

सरकारी निकायले नाकामा कडाइ नगर्दा दैनिकरुपमा तस्करी भइरहेकाले स्थानीय उत्पादन र व्यापारले बजार नपाएको उहाँको गुनासो छ । अवैध आयात नरोकिएमा उद्योगी व्यवसायी पलायन भई नेपालगञ्ज क्षेत्र आर्थिक सङ्कटमा फस्नसक्ने उहाँले बताउनुभयो ।

नेपालगञ्जका अगुवा व्यापारी कृष्णप्रसाद श्रेष्ठले अहिलेको प्रतिकूल अवस्थामा पनि उद्योगी व्यवसायीले सङ्घर्षका साथ उद्योग व्यवसाय सञ्चालन गरेको जनाउँदै सरकारले राहतको कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले निजी क्षेत्रको समस्या समाधान गरेर आर्थिक अवस्था सुदृढ गर्नेतर्फ अग्रसरता नदेखाए अवस्था भयावह हुने बताउनुभयो । आर्थिक विकासका लागि उद्योग, कलकारखाना र व्यापार व्यवसाय फस्टाउने वातावरण बनाउनुको विकल्प नरहेको उल्लेख गर्दै उहाँले अवैध आयात र तस्करीलाई निरुत्साहित पार्न माग गर्नुभयो ।

भारतसँग जोडिएको बाँकेमा छोटी भन्सार कार्यालय सञ्चालन नहुँदा ग्रामीण क्षेत्रबाट दैनिकरुपमा हुने तस्करीले नेपालगञ्जको व्यापार व्यवसायलाई समस्यामा पारेको उहाँको भनाइ छ ।

बाँकेको भारतसँग जोडिएको ६५ किमीको खुला सीमानाकामा हाल एउटा मात्र भन्सार कार्यालय छ । ग्रामीण नाकामा रहेका सात छोटी भन्सार कार्यालय करिब दुई दशकअघि बन्द गरिएकामा हालसम्म पुनःस्थापना हुन सकेका छैनन् ।

तपाईको प्रतिक्रिया