गण्डकी, फागुन १३ : गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धर्म र संस्कृति समाज विकासको आधार भएको बताउनुभएको छ ।
पोखराको पर्यटकीय गन्तव्य गुप्तेश्वर गुफा व्यवस्थापन समितिको २६ र २७ औँ साधारणसभा एवं १०औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले धार्मिक एवं सांस्कृतिक माध्यमबाट पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
“धार्मिक पर्यटन प्रवद्र्धनसँगै त्यसबाट हुने आम्दानीले समाजको शैक्षिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुगेको छ”, उहाँले भन्नुभयो, “यस्ता क्षेत्रको संरक्षण र विकासमा तीनै तहका सरकार जिम्मेवार भएर लाग्नुको विकल्प छैन ।”
गुप्तेश्वर गुफाको आम्दानीबाट बहुमुखी क्याम्पस र गुरुकूल आश्रम सञ्चालन गर्नु समाज तथा राज्यका लागि महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्दै प्रदेश प्रमुख गुरुङले यसको भौगोलिक अवस्थाको अध्ययन अनुसन्धान गर्न पहल गर्ने विश्वास व्यक्त गनुभयो ।
प्रतिनिधिसभा सदस्य विद्या भट्टराई अधिकारीले गुप्तेश्वर गुफा पर्यटकीय नगरी पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास भएको जनाउँदै आम्दानीबाट गुफाको विकाससँगै यस क्षेत्रको संरक्षणमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रदेशसभा सदस्य विन्दुकुमारी पौडेल पहारीले धर्म संस्कृति र परम्पराको संरक्षणका लागि सवैको कर्तव्य भएको बताउनुभयो ।
गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका–१७ का वडाध्यक्ष राधिका शाही योगी, छोरेपाटन मावि व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद लम्साल, झपिन्द्रराज रेग्मी, उत्तम सिग्देल, गोपाल बराल, तीर्थराज अधिकारी लगायतले गुफाको उत्पति, व्यवस्थापन र यसले खेलेको भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो ।
गुफाको विकासमा सहयोग पु¥याउनु हुने एक दर्जनभन्दा बढीलाई सम्मान गरिएको कार्यक्रममा सचिव हरिप्रसाद लम्सालले वार्षिक र कोषाध्यक्ष ऋषि बरालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।






