ब्रसेल्स,फागुन १२ : रूसले सर्बिया र कोसोभोबीचको वार्तालाई बिथोल्ने प्रयास गरिरहेको युरोपेली सङ्घका एक अधिकारीले शुक्रबार चेतावनी दिनुभएको छ ।
युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले सोमबार सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुसिक र कोसोभोका प्रधानमन्त्री अल्बिन कुर्तीलाई भेट्ने कार्यक्रम छ ।
इयूका एक वरिष्ठ अधिकारीका अनुसार दुवै पक्षले युद्धको दुई दशकभन्दा बढी समयपछि पुनः सम्बन्ध स्थापना गर्ने अप्रकाशित इयू योजनाका शर्तहरूलाई सैद्धान्तिक रूपमा स्वीकारेका छन् ।
तर यो योजनाको सफलता मस्कोले कुनै पनि सम्झौताको लागि सर्बियामा विरोधलाई उत्तेजित गर्ने प्रयासको बावजुद आगामी महिनाहरूमा प्रस्तावहरू कार्यान्वयन गर्ने दुवै पक्षहरूमा निर्भर गर्नेछ ।
आफ्नो परम्परागत सहयोगी सर्बियाका लागि रूसका ‘अतिसक्रिय’ राजदूतले सञ्चारसँगको अन्तर्वार्ताको शृङ्खलाबद्ध अभिव्यक्ति दिएको उल्लेख गर्दै ईयूका वरिष्ठ अधिकारीले भन्नुभयो, “रूसले हस्तक्षेप गरेर यो कामलाई बिथोल्ने प्रयास गरेको छ ।”
उहाँले भन्नुभयो, “यो कोसोभो मुद्दालाई सम्बोधन गर्ने सही समय होइन र यसले रूस र पश्चिमबीच नयाँ विश्व व्यवस्था स्थापना नभएसम्म पर्खनुपर्छ ।”
उहाँले भन्नुभयो, “म यसलाई राष्ट्रपति भुसिकका लागि खतराको रूपमा हेर्छु र उहाँलाई प्रस्तावमा सहमत नहुन सुझाब दिन्छु ।”
“मैले राष्ट्रपति भुसिकको स्थितिमा यसको प्रभाव परेको देखेको छैन, तर निःसन्देह यसले सर्बियामा विपक्षीहरूको भागमा प्रभाव पारेको छ र हामीले केही हिंसात्मक प्रदर्शनहरू देखेका छौँ,” उहाँले थप्नुभयो ।
सन् १९९० को दशकको अन्त्यतिर कोसोभोमा जातीय अल्बानियाली विद्रोही र सर्बियाली सेनाले युद्ध सुरु गरेपछि नेटोको हस्तक्षेप र बेलग्रेडका सेना र सरकार फिर्ता भएपछि यो विवाद चर्किँदै गएको छ ।
कोसोभोको सन् २००८ को एकपक्षीय स्वतन्त्रताको घोषणालाई बेलग्रेडले ठाडै अस्वीकार गरेको थियो, जसका सहयोगी चीन र रुसले संयुक्त राष्ट्रसङ्घमा उसको प्रवेशलाई रोकेका थिए ।
प्रिस्टिनाले कोसोभोभित्र सर्बियाली कार नम्बर प्लेटमाथि प्रतिबन्ध लगाउने प्रयास गरेपछि यस क्षेत्रका सर्बियाली अल्पसङ्ख्यक र जातीय अल्बानियाली अधिकारीहरूबीच तनाव उत्पन्न हुनेगरेको छ ।
ईय ूनेतृत्वको वार्तालाई मुख्यतः फ्रान्स र जर्मनीले समर्थन गरेका छन् र संयुक्त राज्य अमेरिकाबाट समर्थन प्राप्त भएको छ, तर यो एक ‘स्टप–स्टार्ट’ प्रक्रिया थियो ।
प्रस्ताविक सम्झौताको पाठ सार्वजनिक गरिएको छैन जसले गर्दा दुवै पक्षलाई सार्वजनिक रूपमा आ–आफ्नो व्याख्या प्रस्तुत गर्न सजिलो हुने गरेको छ ।






