सम्पदा र अभिलेख संरक्षणमा सरोकार भएकाको समन्वय हुनुपर्नेमा जोड

  फागुन १२, २०७९

काठमाडौँ, फागुन १२ : सम्पदा र अभिलेख संरक्षणमा सरोकार भएका निकायकाबीच समन्वय हुनुपर्नेमा जोड दिइएको छ ।

तराई विकास तथा सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘नेपालका सम्पदा, अभिलेख संरक्षणको अवस्था र अबको दायित्व’ विषक कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले भावी पुस्ताका लागि अभिलेखजस्तो छ त्यही रुपमा रहनुपर्ने बताउनुभयो ।

मन्त्रालयअन्तर्गत केही सांस्कृतिक अभिलेखको संरक्षण गुठी संस्थानले गरिरहेको उल्लेख गर्दै उहाँले भूमि व्यवस्था तथा अभिलेख संरक्षण विभागले कागजले प्रमाण स्थापित गर्ने अभिलेखको संरक्षण गरिरहेको जानकारी गराउनुभयो । अभिलेख सूचना र नीति निर्माणको पनि स्रोत भएको सचिव रेग्मीले बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा सुरेशसुरस श्रेष्ठले सम्पदा र अभिलेख संरक्षणसम्बन्धी कानुनलाई एकीकृत गरेर कार्यान्वयनमा लगिनुपर्नेमा जोड दिनुभयो । यसबाट ९० प्रतिशत समस्या समाधान हुने उहाँको भनाइ थियो ।

गुठी संस्थानका प्रशासक किरण शाक्यले अमूर्त सम्पदा संरक्षणमा काम गरे पनि नदेखिने गरेको बताउनुभयो ।

संस्थानमा रहेका लगतलाई डिजिटाइजेसन गरेर कम्प्युटरबाट प्रिन्ट गर्न सकिने अवस्थामा राखिएको जानकारी उहाँले गराउनुभयो । संस्थानका अभिलेख १५ वर्षदेखि सुरक्षित गरेर हनुमानढोकामा राखिएको जनाइएको छ ।

भूमि व्यवस्था तथा अभिलेख संरक्षण विभागका महानिर्देशक पद्मनिधि सोतीले नापनक्सा भएका सांस्कृतिक सम्पदाको अभिलेख सुरक्षित राखिएको जानकारी दिनुभयो ।

वाग्मती र जनकपुर क्षेत्रमा कहाँ कहाँ अतिक्रमण भएको छ भन्ने अभिलेख पनि विभागसँग रहेको उहाँले कार्यक्रममा सुनाउनुभयो ।

पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले ७७ जिल्लाका सांस्कृतिक सम्पदा सूचीकृत गरिएको जानकारी दिँदै ७२ जिल्लाका सम्पदाको भने वर्गीकरण पनि सकिएको जानकारी दिनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले भारतका सांस्कृतिक सामग्री नेपाल आउने गरे पनि नेपालका सांस्कृतिक सामग्री भारत नजाने अवस्थामा सुधार गरिनुपर्ने बताउनुभयो । वैज्ञानिक सांस्कृतिक नीति निर्माण गरिनुपर्नेमा पनि उहाँको जोड थियो ।

बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले बौद्धनाथ चैत्यमाथि रहेका एक सय आठ मूर्तिलाई सिसाले ढाक्न नपाउने व्यवस्था रहेकाले फोहर हुने गरेको बताउनुहुँदै संरक्षणमा के गर्ने भन्ने निर्णय हुनुपर्नेमा चिन्तन भइरहेको बताउनुभयो ।

बौद्धनाथ सम्पदाको वरिपरि अग्ला अग्ला घर बनेकाले अनुगमन गरेर कानुनी कारबाही गर्ने संस्था कुन हो भनी खोजी गर्नुपरेको उहाँले बताउनुभयो ।

सम्पदा संरक्षणका विषयमा कलम चलाउँदै आउनुभएका पत्रकार दामोदर न्यौपानेले संस्कृति सरकारको प्राथमिकतामा नपर्दा सम्पदा एवं अभिलेख संरक्षणको अवस्था नाजुक रहेको बताउनुभयो ।

बौद्ध धर्म गुरु एवं समाजसेवी पासाङतेम्बा लामाले बौद्धनाथ गुठीको तीन हजार रोपनी जग्गा कहाँ गयो भनी खोजी गर्नुपर्ने बताउनुभयो ।

मेलम्ची बाढीले १५ देखि २० पुरातात्विक महत्वका मूर्ति बगाएको जानकारी गराउँँदै दुई आफूले भेटेर संरक्षण गरिराखेको जानकारी उहाँले गराउनुभयो ।

केन्द्रका अध्यक्ष गोविन्द चौलागाइँले विश्व सम्पदा सूचीमा सूचीकृत पशपतिनाथ, बौद्धनाथ र स्वयम्भूनाथ क्षेत्रमा आउने विवाद पनि सम्पदा र अभिलेख संरक्षणकै विषयमा हुने गरेको बताउनुभयो । सम्पदाको संरक्षणमा सहयोग पुगोस् भनेर नै यो बहस चलाइएको उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया