स्ववियु निर्वाचन तयारी तीव्र पार्दै नेविसङ्घ

  फागुन १२, २०७९

नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ नेविसङ्घले आगामी चैतमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० को निर्वाचनमा आफ्नो उम्मेदवारलाई जिताउने गरी तयारीलाई तीव्रता दिएको छ ।

त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते स्ववियु निर्वाचनको मिति घोषणा गरेसँगै नेविसङ्घले स्ववियु निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन तयारीलार्ई तीव्रता दिएको हो । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले आगामी स्ववियु निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन विभिन्न पाँच समिति गठन गरेर चुनावी प्रचारलाई तीव्रता दिएको बताउनुभयो ।

उहाँका अनुसार नेविसङ्घले स्ववियु निर्वाचनका लागि घोषणापत्र तयारी, प्रचारप्रसार, प्रशिक्षण, विद्यार्थी समन्वय र सुरक्षा समन्वय समिति गठन गरेको हो । क्याम्पसदेखि विश्वविद्यालयसम्ममा प्रतिनिधि पठाउने कुरा अगाडि बढिसकेको उहाँले जानकारी दिनुभयो । नेविसङ्घले जिल्ला समिति गठनलाई समेत तीव्रता दिएको छ ।

लामो समयपछि हुन लागेको निर्वाचनमा यही फागुन १९ गते विद्यार्थी सङ्घसङ्गठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २५ गते मतदाता सूचीमा दाबी–विरोध तोकिएको छ । फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण, फागुन २७ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ ।

तपाईको प्रतिक्रिया