महेन्द्रनगर (धनुषा), फागुन ९ : मैथिली भाषामाथि सङ्कट रहेको बताउँदै वक्ताहरूले भाषाप्रतिको अपनत्व विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ ।
मैथिली विकास कोषको आयोजनामा आज जनकपुरधाममा भएको अन्तर्राष्ट्रिय मातृभाषा दिवस, २०२३ का अवसरमा ‘मातृभाषामा शिक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले मैथिली भाषीमा आफ्नो भाषाप्रति अपनत्व नबढे भाषा सङ्कटमा पर्ने बताउनुभयो ।
उहाँले तीन तहको सरकार र सङ्घीय प्रणालीमा प्राथमिक शिक्षामा मैथिली भाषाको पढाइ सुरु हुन नसक्नु दुःखद रहेको गुनासो गर्नुभयो ।
सभामुख मण्डलले भन्नुभयो, “जसरी संस्कृतलाई देवताहरूको मात्र भाषा भनियो र संस्कृत भाषा नै मृततुल्य भयो त्यसरी नै मैथिली सबै जातजातिको भाषा हुन नसके यस भाषाको पनि अवस्था त्यस्तै हुन सक्छ ।”
प्रदेशसभामा कूल १२ सदस्यले मैथिली भाषामा सपथ लिएको जानकारी दिँदै उहाँले ती सम्पूर्ण सदस्यलाई मैथिली भाषाको विकासका लागि योजना बनाएर पेश गर्न आग्रह गर्नुभयो ।
भाषाविद् डा रामअवतार यादवले सन् १९५२ फेब्रुअरी २१ मा बङ्गलादेशको ढाका विश्वविद्यालयमा भएको भाषिक आन्दोलनमा पाँच जनाले शहादत प्राप्त गरेपछि संस्थागतरूपमा मातृभाषाको अभियान सुरु भएको र पछि सोही दिनलाई मातृभाषा दिवसका रूपमा मनाउन थालिएको जानकारी दिनुभयो ।
डा राजेन्द्रप्रसाद विमलले मैथिली भाषा सधँै खुट्टाको बलमा नभई टाउको बलमा मात्र चल्ने गरेकाले आज सङ्कटमा रहेको भन्दै प्राथमिक तहकै शिक्षामा मैथिली पढ्ने वातावरणको निर्माण हुन आवयश्क रहेको बताउनुभयो ।
मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोष कापडी भ्रमरले प्रतिष्ठानको तर्फबाट मैथिली भाषाको विकास र शब्दकोष निर्माण गर्ने प्रतिबद्वता व्यक्त गर्नुभयो । उहाँले मैथिलीलाई मधेसको कामकाजको भाषा बनाउन नसक्नु दुःखद रहेको तर्क राख्नुभयो ।
अभियानकर्मी रोशन जनकपुरी, परमेश्वर कापडी, नेताहरू रामसरोज यादव, परमेश्वर साह, वृशेषचन्द्र लालले मैथिली भाषालाई सरकारको सहारा नरहे पनि समाजले नै जीवन्त राखेको भन्दै राजनीतिक दलहरू र सरकारलाई सचेत गराउन आवयश्यक रहेको बताउनुभयो ।
कलाकार तथा साहित्यकार रमेश रञ्जन झाले विसं २०७८ को जनगणनामा मैथिली भाषा साताँै नम्बरको भाषामा झरेको जानकारी दिनुभयो ।
कोषका अध्यक्ष जीवनाथ चौधरीले सङ्घीय प्रणालीमा पनि पञ्चायतकाल जस्तै सडक र नालाकै विकास प्राथमिकतामा पर्ने गरेकाले पहिचान, भाषा र संस्कृति सङ्कटमा परिरहेको बताउनुभयो ।






