कर्णाली प्रतिष्ठानले राकममा सय श्ययाको अस्पताल बनाउँदै

  फागुन ०९, २०७९

कर्णाली, फागुन ९ : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले दैलेख आठबीस नगरपालिकामा अवस्थित राकम कर्णालीमा एक सय शय्याको अस्पताल बनाउने भएको छ ।

एक सय श्ययाको अस्पताल निर्माणका लागि प्रतिष्ठानको पहल तथा आठबीस नगरपालिकाको समन्वयमा त्यहाँका स्थानीय नागरिकले ४२ रोपनी जग्गा पास गरेका छन् ।

राकममा उक्त अस्पताल निर्माणका लागि प्रतिष्ठानका निर्देशक र उक्त नगरपालिकाका पूर्वनगरप्रमुख खड्गबहादुर सेजुवालले विसं २०७६ फागुन १० गते समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौता मितिदेखि प्रतिष्ठानले आठबीस नगरपालिकालाई विशेषज्ञ सेवा प्रवाहका लागि चिकित्सक पठाउने गरेको छ । अहिले आठबीसको स्वास्थ्य सेवामा सहयोग पुगोस् भन्ने हेतुले गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को सहयोगमा प्रतिष्ठान जुम्लाले अक्सिजन प्लान्ट सहयोग गरेको छ । जसको उद्घाटन आज कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले गर्नुभयो ।

अक्सिजन प्लान्टको उद्घाटनका क्रममा योजनामन्त्री शाहले प्रदेश सरकारले राकम कर्णालीमा एक सय शय्याको अस्पताल निर्माण गर्ने कार्यलाई पहिलो प्राथमिकता दिने बताउनुभयो ।

“विस्तृत परियोजना प्रतिवेदन तयार गर्दै हुनुहुन्छ । त्यसलाई जतिसक्दो छिटो बनाउनुस्”, उहाँले भन्नुभयो, “प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्थापन गर्छ ।”

उहाँले जल पर्यटनको विकास गर्दा युवा रोजगारी वृद्धि हुनसक्ने भन्दै ¥याफ्टिङका लागि राकममा ट्रेनिङ सेन्टर खोल्न पहल गर्ने बताउनुभयो ।

जलस्रोत, प्राकृतिक ग्यास, बहुमूल्य पत्थर, जडीबुटी, रैथाने उत्पादन तथा सांस्कृतिक एवं पुरातात्विकरुपले धनी कर्णालीको स्वास्थ्य र शिक्षाका बारेमा सङ्घीय संसद्मा ध्यानाकर्षण गर्न कर्णाली राराको यात्राका लागि राकम पुग्नुभएका सांसद सोविता गौतमलाई आग्रह गर्नुभयो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले अस्पताल निर्माणका लागि राकम छानेको भन्दै मन्त्री शाहले कृतज्ञता प्रकट गर्नुभयो ।

सांसद सोविता गौतमले राकममा अस्पताल निर्माणका लागि प्रतिष्ठानले ठूलो भूमिका खेलेको बताउनुभयो । कर्णालीको स्वास्थ्य र शिक्षाका बारेमा र यहाँको ऐश्वर्यका विषयमा सांसदमा कुरा राख्ने उहाँको भनाइ थियो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा मङ्गल रावलले प्रतिष्ठानले कर्णालीका १० र सुदूरपश्चिमका बझाङ, बाजुरा र अछामलाई आफ्नो कार्य क्षेत्र बनाउँदै आएको बताउनुभयो ।

“राकम कर्णाली हुम्ला र मुगुको तल्लो भेक, बाजुरा, अछाम, कालीकोट र दैलेख जिल्लाको ट्रान्जिट पोइन्ट नै पर्छ”, उहाँले भन्नुभयो, “कर्णाली राजमार्ग पनि यसैमा परेकोले कुनै दुर्घटना वा अन्य बिरामीको उपचारका लागि राकम केन्द्रबिन्दु नै पर्छ ।”

उपकुलपति रावललका अनुसार प्रतिष्ठानले सहयोग गरेको रु ३२ लाख पाँच हजार बजेटको अक्सिजन प्लान्टले एक सय ७० देखि दुई सय सिलिन्डर भर्न सक्ने र कालीकोट र अछाममा निर्यात गर्न सक्छ यद्यपि यसका लागि विद्युत् आवश्यक छ । दुर्गममा स्वास्थ्य शिक्षा र अनुसन्धानलाई हेर्ने संस्थाको विकासका लागि सरकारले प्राथमिकताका साथ हेर्नुपर्नेमा उहाँको जोड थियो ।

उपकुलपति रावलले विकट हिमाली जिल्लामा बनेकाले जुम्ला प्रतिष्ठानलाई स्वास्थ्य क्षेत्रको गौरव आयोजना राख्न सरकारलाई अनुरोध गर्नुभयो ।

आठबीस नगरपालिकाका नगर प्रमुख तर्कबहादुर बडुवालले प्रतिष्ठानले यहाँका नागरिकका लागि तीन वर्षदेखि ठूलो पहल गर्दै आएको बताउनुभयो । नगरपालिका र प्रतिष्ठानबीचको समझदारीलाई सफलताको बिन्दुमा पु¥याउने उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया