काठमाडौँ, फागुन ८ : नेपाली सेनाको २६०औँ स्थापना दिवस मूल समारोहमा भाग लिन आउनुभएका भारतीय सेनाका चारै जना पूर्वसेना प्रमुख नेपालको भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ । उहाँहरूले आजै बिहान सोलुखुम्बु जिल्लाको नाम्चे क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको थियो ।
सेना दिवसको अवसर पारेर भारतीय सेनाका पूर्वप्रमुख विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीर सिंह सुहाग नेपाल भ्रमणमा आउनुभएको होे ।
उहाँहरू आइतबार मुस्ताङ पुगेर मुक्तिनाथ मन्दिरको दर्शन गर्नुभएको थियो । उहाँहरूले हिजै सैनिक मुख्यालयमा आयोजित समारोहमा प्रधानसेनापतिसहित आफना समकक्षीसँग छलफल र विचार विमर्श गर्नुभयो ।
नेपाली सेनाद्वारा जङ्गी अड्डामा आइतबार साँझ आयोजित सांस्कृतिक कार्यक्रममा पनि पूर्वसैनिक प्रमुख सहभागी हुनुभयो । नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान अनुपम परम्परा छ । उहाँहरू चारै जना नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानीबाट सुशोभित भारतीय पूर्वसेना प्रमुख हुनुहुन्छ ।






