विराटनगर, फागुन ८ : प्रदेश–१ का प्रदेशसभा सदस्यले रासायनिक मलको अभाव र किसानका समस्याका विषयमा प्रश्न उठाउनुभएको छ ।
सोमबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने अधिकांश सदस्यले मलको समस्या तत्काल समाधान गर्न र किसानले उत्पादन गरेको वस्तुको बजारीकरण सहज बनाउन सरकारलाई सुझाव दिनुभएको हो ।
प्रदेशसभा सदस्य अम्बरबहादुर बिष्टले गाउँघरमा पर्याप्त युरिया, डिएपीलगायतका रसायनिक मल नपाउँदा किसानमा निराशा छाएको र उत्पादन घट्दै गएको बताउनुभयो । उहाँले अब बर्खे धान लगाउने समय सुरु हुन लागेकाले मलको समस्या समयमै निराकरण गर्न सरकारसँग माग गर्नुभयो ।
सदस्य कमलप्रसाद जगेबुले समयमै विपद् व्यवस्थापन र किसानलाई आवश्यक पर्ने मलको यथोचित व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।
किसानले समयमै मल नपाउँदा उत्पादनमा ह्रास आउने बताउँदै उहाँले भन्नुभयो, “किसानले समयमा नै मल पाउन सकेनन् भने हाम्रो उर्वरायुक्त जमिनबाट उत्पादन हुने बालीमा ह्रास आउँछ । जसले गर्दा हामीले खाद्यान्न सङ्कट भाग्नुपर्ने अवस्था आउँछ ।”
उहाँले किसानका समस्या हल गर्न नसके प्रदेशसभाको लोगो लगाएर बजारमा हिँड्न अप्ठ्यारो पर्ने बताउनुभयो । “हामीले किसानलाई आवश्यक पर्ने मल खेतीको समयसम्म उपलब्ध गराउन नसके हामी यो प्रदेशसभाको हलमा आएर, प्रदेशसभाको लागो लगाएर बजारमा हिँड्नसमेत अप्ठ्यारो पर्ने चुनौती छ”, उहाँले भन्नुभयो ।
नेपाललाई सबैले कृषि प्रधान देश भन्दै भाषण गर्ने गरेको बताउँदै प्रदेशसभा सदस्य खगेश्वरी पौडेलले कृषकको अवस्था कस्तो छ रु भन्नेतर्फ सबैको ध्यान जान जरुरी रहेको बताउनुभयो ।
उहाँले किसानले उत्पादन गरेका वस्तुले राम्रो बजार मूल्य नपाउने तर उपभोक्ताले कृषि उत्पादन महँगोमा किन्नुपरेको बताउनुभयो ।
कृषकको बिक्री मूल्यभन्दा तीन चार गुणा बढी मूल्यमा उपभोक्ताले खरिद गर्नुपर्ने अवस्था आएको भन्दै उहाँले प्रश्न गर्नुभयो, “यो अवस्था कहाँबाट सिर्जना भयो रु यसको समाधान किन आजसम्म खोजिएन रु”
चिया किसानले न्यूनतम मूल्य पनि नपाउँदा जीविकोपार्जनमै समस्या आउन थालेको उहाँको भनाइ थियो ।






