चितवन, फागुन ८ : राष्ट्रिय भूमि आयोग चितवनमा चार सय ८४ जनाले आफ्नो जग्गा धनी प्रमाण पुर्जा अद्यावधिकका लागि निवेदन दिएका छन् । उनीहरूले अघिल्ला आयोगले भोगचलनका लागि मात्रै दिएका पुर्जा अद्यावधिकका लागि आयोगमा निवेदन दिएका हुन् ।
आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाका अनुसार सात पालिकामध्ये सबैभन्दा धेरै निवेदन इच्छाकामना गाउँपालिकाबाट आएका छन् । गाउँपालिकाबाट दुई सय २३ निवेदन परेको उहाँले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिकाबाट एक सय ६३, खैरहनी नगरपालिकाबाट ४२, माडी नगरपालिकाबाट २४, राप्ती नगरपालिकाबाट १९ र रत्ननगर नगरपालिकाबाट १३ वटा निवेदन परेका छन् । कालिका नगरपालिकाबाट अहिलेसम्म निवेदन नपरेको उहाँले बताउनुभयो ।
आएका निवेदनमाथि छानबिन गरी आयोगले निर्णय गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जग्गाको मूल्य बराबरको राजस्व बुझाइसकेकाको अद्यावधिकका लागि छिट्टै निर्णय गर्छौँ ।”
जग्गा धनी प्रमाण पुर्जा पाएर पनि समय तोकिएर बेचबिखन गर्न नपाउने गरी अघिल्ला आयोगले जिल्लामा पुर्जा वितरण गरेका थिए । पुराना आयोगले पाँच वर्ष र १० वर्षसम्म बेचबिखन गर्न नपाउने गरी पुर्जा वितरण गरेको उहाँले बताउनुभयो ।
आयोगले निवेदन सङ्कलन गरेर उनीहरूलाई अब पूर्ण स्वामित्वका लागि निर्णय गर्ने उहाँको भनाइ छ । जिल्लामा रहेका मालपोत कार्यालय र नापी कार्यालयसँग समन्वय गरेर काम अघि बढाइने आयोगले जनाएको छ ।






