अत्तरिया,फागुन ७ : सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीले राष्ट्रिय समाचार समिति ९रासस०ले राज्यका कमजोरी पनि औँल्याउनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय समाचार समिति (रासस) को ६२औँ स्थापना दिवसका अवसरमा धनगढीमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले राज्यको उपस्थिति नभएको क्षेत्रका समस्याहरूलाई पनि राससले उजागर गर्नुपर्ने बताउनुभयो ।
“राज्यका नीतिगत कमजोरीलाई पनि बाहिर ल्याउनुपर्छ, रासस अझ विश्वसनीय हुन्छ”, उहाँले भन्नुभयो, “अब यसतर्फ पनि ध्यान दिनुप¥यो । निजी क्षेत्रका मिडियाले मात्रै सरकारको कमी कमजोरी हेर्छन् भन्ने हुनु भएन ।”
उहाँले राससको थप विकासका लागि प्रदेश सरकार सधैँ सहयोग गर्न तत्पर रहेको बताउनुभयो । राससका सुदूरपश्चिम प्रदेश प्रमुख सिद्वराज भट्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य तुलसी देवकोटा, चक्रबहादुर मल्ल र रमेश धामीले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।
राससका कञ्चनपुर शाखा कार्यालय प्रमुख शेरबहादुर सिंहले स्वागत गर्नुभएको सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य भरत शाह, महासङ्घका कैलाली शाखा अध्यक्ष हिमालय जोशी, निवर्तमान अध्यक्ष जगत साउँद लगायतको सहभागिता रहेको थियो ।






