समाजभित्रका भ्रम चिर्न राससले नेतृत्वदायी भूमिका खेलोस्ः मन्त्री जिसी

  फागुन ०७, २०७९

कर्णाली,फागुन ७ : कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले समाजभित्रका भ्रम चिर्न राससले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय समाचार समिति कर्णाली प्रदेश कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित राससको ६२औं वार्षिकोत्सवको अवसरमा ‘जिम्मेवार पत्रकारिता र राससको भूमिका’ अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री जिसीले कर्णालीमा भएका समग्र समस्याको उजागर गर्न राससको अग्रसरता अपरिहार्यता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यद्यपि राससले साविकको भन्दा बढी विकास गर्नै पर्दछ ।”

सङ्घीयताका अल्झन धेरै भएकोले राससको व्यवस्थापनका लागि प्रादेशिक तहमा कानून बनाएर सरकारी नियममा बाध्न सकिने गरी जान सके सहज हुने उहाँको भनाइ थियो । उहाँका अनुसार मुलुकको विकास एवं समृद्धिका लागि राज्य र मिडियाबीचको सम्बन्ध प्रगाढ हुनपर्छ । आमसञ्चार प्रतिष्ठान विधेयक ल्याउने तयारीमा रहेको बताउनुभएका उहाँले एकीकृत सूचना प्रणालीका बारेमा सोच बनाइएको जनाउनुभयो ।

नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समिति अध्यक्ष देवीराम देवकोटाले लामो इतिहास बोकेको राससले आफूलाई समयानुकूल बनाउन नसकेको टिप्पणी गर्नुभयो । नागरिक अगुवा एवं राजनीतिक विश्लेषक पिताम्बर ढकालले आकाशवाणीबाट समाचार पठाउनेदेखि आजको सूचना र प्रविधिको युगमा आइपुग्दाको इतिहासले राससको योगदान र महत्व दुवै स्पष्ट भएको बताउनुभयो । विश्लेषक ढकालले भन्नुभयो, “लामो समयदेखि नेपाली पत्रकारितामा दिएको देनलाई सम्मान गर्दै प्रदेश सरकारले राससलाई स्रोत साधनयुक्त बनाएर काम गर्ने वातावरण बनाउनुपर्दछ ।”

नेपाल पत्रकार महासङ्घ शाखा सुर्खेतका अध्यक्ष ललित बसेलले रासस समाचारको मुहान भएकोले मुहान सँधै शुद्ध हुनुपर्ने सुझाव दिनुभयो । न्यूनतम शुल्क लिएर सर्वसुलभ रुपमा समाचार लिने व्यवस्था राससले गर्दा यसप्रतिको आकर्षण अझ बढ्ने भन्दै उहाँले समाचार पठनीय र विश्वसनीय हुन समाचारदाता र सम्पादक जिम्मेवार हुनुपर्ने जनाउनुभयो ।

वार्षिकोत्सवका सहभागीहरुले राससमा खोजी समाचार अभाव भएको, कपीपेष्ट जस्ता समाचारबाट जोगिनुपर्ने, समाचार कसको हो भन्ने पहिचान हुन नसकेको, समाचार ढिलो आउने जस्ता प्रतिक्रिया राख्दै त्यसलाई व्यवस्थित बनाएर लैजानुपर्ने सुझाव दिनुभयो ।

रासस कर्णाली प्रदेश कार्यालयका प्रमुख शुरबहादुर सिंहले सहभागीबाट उठेका जिज्ञासाहरुलाई पृष्ठोपोषणका रुपमा आत्मसात् गरी राससको जिम्मेवारीलाई प्रभावकारी बनाएर लैजान भूमिका खेल्ने बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया