राष्ट्रिय समाचार समिति राससका महाप्रबन्धक सिद्धराज राईले मौलिक अधिकारका रुपमा रहेको सूचनाको हकको सुनिश्चितताका लागि राससले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभएको छ ।
राससको ६२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले छ दशकभन्दा लामो समयका विभिन्न आरोहअवरोहलाई चिर्दै संस्थाले ‘सूचना र सञ्चार, जनताको अधिकार’ भन्ने मूल मन्त्रलाई सधैँ केन्द्रमा राखेर काम गर्दै आएको बताउनुभयो । राज्यले दिने सेवा र सरकारको गतिविधिका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सूचना पु¥याएर संस्थाले अलग पहिचान स्थापित गरेको उहाँको भनाइ छ ।
“आधिकारिक र सत्यतथ्य समाचार सम्प्रेषण गरी नागरिकको सूचनाको हक सुनिश्चित गराउन र सामाजिक रुपान्तरणको अभियानमा हातेमालो गर्न राससले आफूलाई अग्रमोर्चामा उभ्याएको छ”, उहाँले भन्नुभयो । स्थापनाको ६२ वर्ष अवधिमा पञ्चायत, बहुदल, सशस्त्र द्वन्द्व हुँदै लोकतान्त्रिक गणतन्त्र नेपालसम्म आइपुग्दा राससले राज्य र सरकारका पक्षमा निरन्तर कलम चलाएको महाप्रबन्धक राईले उल्लेख गर्नुभयो ।
आजको प्रविधिको युगमा आफूलाई समयानुकूल बनाइ सेवा प्रवाहको गुणस्तरमा सुधार गर्न राससले हरसम्भव प्रयास गरिरहेको उहाँको भनाइ छ । यसअघि नेपाली र अङ्ग्रेजी भाषामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, आलेख, फोटो र अडियो सेवा सञ्चालन गर्दै आएको राससले अहिले आफ्नो सेवालाई विविधीकरण गर्दै भिडियो र विचार सेवाकोसमेत सुरुआत गरेको छ ।
राससले आफ्नो सेवालाई प्रभावकारीरुपमा सञ्चालन गर्न केन्द्रीय कार्यालयसँगै सात प्रदेश कार्यालय र ११ ठूला सहरमा कार्यालय सञ्चालन गरी सेवा प्रवाह गरिरहेको छ । हालसम्म राससबाट चार सय नौ सञ्चार संस्थाले सेवा लिइरहेको उल्लेख गर्दै महाप्रबन्धक राईले सेवा प्रवाहलाई थप व्यवस्थित गर्न नयाँ सेवाग्राही निर्देशिका लागू गरेकोसमेत बताउनुभयो ।
खर्चमा मितव्ययिता र कर्मचारीको कुशल व्यवस्थापनका विषयलाई पनि राससले महत्व दिएको उहाँले उल्लेख गर्नुभयो । “सरकारको नीतिअनुसार राससले कार्यालयमा हुने आन्तरिक खर्च र इन्धन खर्च घटाउने प्रयास गरेको छ, आन्तरिक समस्याले रोकिएको राससको पदपूर्ति प्रक्रियालाई लोकसेवा आयोगसँगको सहकार्यमा प्रक्रिया अगाडि बढाएका गरेका छौँ, लोकसेवाको परीक्षापछि रोजगारीबाट विमुख भएका अस्थायी र ज्यालादारी पत्रकारका सन्दर्भमा छुट्टै व्यवस्थापन गरी समस्या समाधान गरिएको छ”, महाप्रबन्धक राईले भन्नुभयो ।
सबै कर्मचारीलाई आफ्नो कामप्रति जिम्मेवार बनाउन कार्यसम्पादन सम्झौता गरिएको उहाँको भनाइ छ । विद्यमान कानुनी व्यवस्थालाई समयसापेक्ष बनाउन ऐन र विनियमावली संशोधनका क्रममा रहेको पनि उहाँले जानकारी दिनुभयो । “रासस ऐन, २०१९ पटकपटक संशोधन भए पनि राससको वर्तमान अवसर र चुनौतीलाई त्यसले सम्बोधन गर्न सकेको छैन, त्यसैले ऐनको पुनःलेखन गरी संशोधनको अन्तिम मस्यौदा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाएका छौँ, हाल विनियमावली संशोधन र सङ्गठन संरचनालाई पुनःनिर्माण गर्ने कार्य भइरहेको छ”, राइले भन्नुभयो ।
राससले आफ्नो सेवालाई विविधीकरण गर्दै गत साउन १ गतेदेखि श्रव्यदृष्य ९भिडियो० सेवा सञ्चालमा ल्याइसकेको छ । गत साउनदेखि विज्ञको विचार र लेख पनि राससले सम्प्रेषण गर्न थालेको छ । सेवालाई प्रभावकारी बनाउनका लागि एकीकृत सफ्टवेयर जडान गरी सञ्चालन गर्ने तयारी भइरहेको छ । राससले २०७८ फागुन १ गतेदेखि २०७९ माघ २९ गतेसम्मको एक वर्ष अवधिमा एक लाख ३८ हजार १२ समाचार सामग्री सम्प्रेषण गरेको छ ।
भौतिक संरचना निर्माण तथा व्यवस्थापनको कामलाई प्राथमिकतामा राखिएको पनि महाप्रबन्धक राइले बताउनुभयो । राससको प्रधान कार्यालयस्थित नयाँ भवन निर्माण सम्पन्न भएको, चितवनको भरतपुरमा अत्याधुनिक प्रविधियुक्त अन्तर्राष्ट्रियस्तरको आवासीय राष्ट्रिय तालिम केन्द्र भवन निर्माण कार्य अघि बढेको र आठ कार्यालय भवन मर्मतको काम भइरहेको उहाँको भनाइ छ । त्यस्तै पोखरा र काँकडभित्तामा रहेको जग्गालाई उपयोगका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० बनाउने प्रक्रिया अगाडि बढेको उहाँले जानकारी दिनुभयो ।
राससले आफ्नो सेवालाई प्रभावकारी बनाउन निर्वाचन रिपोर्टिङ, श्रव्यदृष्य रिपोर्टिङ र संसदीय रिपोर्टिङ तालिम सम्पन्न गरेको उल्लेख गर्दै महाप्रबन्धक राईले छिमेकी देश भारत र चीनका समाचार संस्थासँग सहकार्य तथा समन्वय भइरहेकोसमेत बताउनुभयो । भारतको प्रेस ट्रस्ट इन्डिया ९पिटिआई०, एएनआई, चीनको सिन्ह्वा र हङकङ स्याटलाइट टेलिभिजनसँग विभिन्न चरणमा छलफल तथा अन्तक्र्रिया गरिएको उहाँले बताउनुभयो ।
रासस व्यवस्थापनले भविष्यमा गर्नुपर्ने कामको योजना बनाउन थालेको पनि महाप्रबन्धक राईले बताउनुभयो । “केही जनशक्ति व्यवस्थापन गर्नसके राससले सेवा विस्तारका लागि २४सै घण्टा समाचार सेवा सञ्चालन गर्ने योजना बनाएको छ”, उहाँले भन्नुभयो । गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका बेला करिब १० दिन राससले २४ घण्टा सेवा सञ्चालन गरेकामा सबै क्षेत्रबाट त्यसको सकारात्मक प्रतिक्रिया आएको उहाँको भनाइ छ ।






